प्रस, परवानीपुर, १० असार/

बाराको परवानीपुर गाउँपालिकाको १०औं गाउँसभा शुक्रवार सम्पन्न भएको छ। कृषि अनुसन्धान निर्देशनालयको सभाकक्षमा भएको गाउँसभाले आव २०७९/८० का लागि रु ४३ करोड ५४ लाख २१ हजारको आय–व्यय विवरण प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले प्रस्तुत गरेका थिए।

उनले सङ्घीय वित्तीय समानीकरण रु १० करोड ९१ लाख, सङ्घीय सशर्त अनुदान चालूतर्फ रु नौ करोड २७ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ रु एक करोड २५ लाख, सङ्घीय सरकार समपूरक अनुदानतर्फ रु ४० लाख, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु नौ करोड ८० लाखको आय प्रस्तुत गरेका थिए।

त्यसैगरी, प्रदेश वित्तीय समानीकरणतर्फ रु ७६ लाख २७ हजार, प्रदेश समपूरक अनुदानतर्फ रु २० लाख, प्रदेश विशेष अनुदान रु ३० लाख, सङ्घीय राजस्व बाँडफाँडतर्फ रु छ करोड ४४ लाख ४२ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ रु २० लाख, आन्तरिक स्रोत अनुमानिततर्फ रु दुई करोड, आव २०७८/०७९ को नगद मौज्दाततर्फ रु दुई करोड, प्राकृतिक स्रोतको रोयाल्टीतर्फ रु ५२ हजारको आर्थिक आय प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री ज्वाला साहले बजेट, नीति तथा कार्यक्रम सफल पार्न जोड दिइन्। उनले अहिलेदेखि नै सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताइन्।

कार्यक्रमको अध्यक्षता गर्दै गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले कृषिप्रधान देश भएर पनि कृषकहरूले बढी समस्या भोग्नुपरेको बताए। उनले अब कृषकको समस्या समाधान गर्ने दाबी गर्दै नीति तथा कार्यक्रम सफल पार्न सबैको सहयोग हुनुपर्ने बताए। उनले महत्वपूर्ण राय सुझावहरूलाई आत्मसात् गर्ने बताए।

कार्यक्रममा संविधानसभा सदस्य नेजमा खातुन, उपाध्यक्ष सुगान्धीदेवी कानू, एमालेका नेताहरू सोचनप्रसाद यादव, मोबिन आलमलगायतले मन्तव्य राखेका थिए।

पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार राउतले कार्यक्रम सञ्चालन र शिक्षा अधिकृत विध्यानन्दप्रसाद यादवले स्वागत गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here