प्रस, वीरगंज, १० असार/
जिल्ला प्रहरी कार्यालय, बाराले कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरूलाई कारागार चलान गरेको जनाएको छ। हत्याको आरोपमा एकजना नाबालकसहित १२ जनालाई पक्राउ गरी वीरगंज कारागार चलान गरिएको जिप्रका, बाराले जनाएको छ।
गत वैशाख ३० गते बिहान ३ः३० बजे जीतपुरसिमरा उमनपा वडा नं ६ नगौलस्थित चित्रबहादुर क्षेत्रीको घरमा राकेशभक्त पौडेललाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो। घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। पौडेलका पिता चिरञ्जीवीभक्त पौडेलको जाहेरीमा बारा प्रहरीले अनुसन्धान गर्दा नाबालिकासहित १२ जनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ।
नगौलटोल बस्ने ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा, २६ वर्षीय सुदीप घिमिरे, वडा नं २ फूलबारी टोलमा बस्ने ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलमा बस्ने ३५ वर्षीय उद्धव अधिकारी, वडा नं ३ बजनी बलुवा टोलमा बस्ने ४८ वर्षीय अर्जुन चिमरिया भन्ने बलरामप्रसाद चिमरिया, वडा नं ६ रामवन टाँडी टोल बस्ने २६ वर्षीय राजु अधिकारी, २६ वर्षीय सन्तोष खत्री, वडा नं ३ शिव मन्दिर टोलका ३४ वर्षीय कुमार मगर र एकजना नाबालक घटनामा संलग्न रहेको भन्दै बारा प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला अदालत बाराको आदेशमा पक्राउ परेका ११ जनालाई कैद भुक्तानको लागि वीरगंज कारागार पठाइएको छ भने नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिप्रका, बाराले जनाएको छ।