अफगानिस्तान, १० असार/एएफपी
अफगानिस्तानमा दुई दशकभन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्ति शुक्रवार खाना र आश्रयविहीन भएका छन्।
भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ। बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठिन भएको र भूकम्प प्रभावित गाउँहरूमा मानिसहरू पर्खिरहेका बताइएको छ।
गत बुधवार आएको ५.९ म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो धक्का पु–याएको र यसमा परी एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। हजारौं व्यक्ति घरवारविहीन भएका छन्।
भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा सम्पूर्ण गाउँ समतल भएका छन् । यहाँ बाँचेकाहरूले भने कि उनीहरू आफ्ना मृतकहरूलाई गाड्नका लागि उपकरणहरू खोज्न पनि सङ्घर्ष गरिरहेको बताइएको छ।
“त्यहाँ कुनै कम्बल, त्रिपाल छैन, त्यहाँ कुनै आश्रय छैन। हाम्रो सम्पूर्ण पानी वितरण प्रणाली ध्वस्त भएको छ। त्यहाँ शाब्दिकरूपमा खानेकुरा केही छैन,” २१ वर्षीय जैतुल्लाह गुर्जिवालले कडा प्रभावित पक्टिका प्रान्तको आफ्नो गाउँमा पुगेको एएफपी टोलीलाई भने।
प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हुजैफाले भारी वर्षा र बाढीका कारण प्रभावित क्षेत्रसम्म पुग्ने प्रयासमा बाधा पुगेको बताए। भूकम्पले मोबाइल फोनका टावर र बिजुलीका लाइनहरू ढलेपछि सञ्चारमा समेत असर परेको छ।
भूकम्पले पहिल्यै भारी वर्षाको प्रभावबाट ग्रस्त क्षेत्रहरूलाई प्रभावित गरेको थियो, चट्टान र माटोको कारणले गर्दा पहाडको भिरालोमा अनिश्चितरूपमा बसेका बस्तीहरू सखाप भएका छन्।
भूकम्पपीडितहरूलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग
संयुक्त राष्ट्रसङ्घ/सिन्ह्वा
अफगानिस्तानका भूकम्पपीडितहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेको राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरूले अफगानिस्तानका भूकम्पपीडितहरूलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन्। रासस