प्रस, काठमाडौं, १० असार/
भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा डाइनामिक चेस एकेडेमीकी कीर्तिसरा अधिकारी छनोट भएकी छन्। प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कीर्तिसराले ६ चरणको समाप्तिमा पाँच अङ्क जोडेकी छन्।
महिलातर्फ अन्य तीन खेलाडीको टुङ्गो शनिवार हुने अन्तिम चरणको खेलबाट हुनेछ। नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यसअघि छनोट भइसकेकी छन्।
कीर्तिसराले शुक्रवार विनीता कपाली र पूनम प्रसाईंलाई पराजित गरिन्। छनोट चरणमा बाँकी तीन स्थानमा अनिशा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दिरा जोशी र खुश्बु थापाबीच तीव्र प्रतिस्पर्धा छ। अनिशाको ४.५ अङ्क छ भने भने विनीताको चार अङ्क छ। शान्ति, सिन्दिरा र खुश्बुको ३.५ अङ्क छ। पूजा भण्डारीको तीन अङ्क छ।
एक दिनअगाडिसम्म अग्रता लिएकी अनिशाले शुक्रवार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन्। विनीताले छैटौं चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन्।
पुरुषतर्फ मिलन लामा छनोट भएका छन्। मिलनले पनि छ चरणको समाप्तिमा पाँच अङ्क बटुलेका छन्। पुरुषतर्फ अब दुईजनाको टुङ्गो शनिवार हुने अन्तिम चरणको खेलले टुङ्गो लगाउनेछ। वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका खेलाडी विवेक थिङ यसअघि नै छनोट भइसकेका छन्। रूपेश जयसवालको ३.५ अङ्क छ। मिलनले शुक्रवार पाँचौं चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौं चरणमा रूपेशलाई हराए।