प्रस, जीतपुर, ९ असार/

वीरगंज–पथलैया छ लेन सडकखण्डको निर्माण हालसम्म ८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।

अढाई वर्षको कार्ययोजनासहित वीरगंज–पथलैया औद्योगिक व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत करीब ३१ किलोमिटरको छ लेन सडक निर्माणको लागि २०७३ असार २९ गते सम्झौता भएको थियो भने सोही वर्ष साउन १ गतेदेखि निर्माण कार्य शुरू भएको थियो । तर अहिले सात वर्ष बितिसक्दा पनि निर्माण कार्य ८८ प्रतिशत मात्र भएको योजनाका सूचना अधिकारी सञ्जीवकुमार गुप्ताले बताए ।

पछिल्लो सम्झौता अनुसार २०७८ चैत मसान्तसम्म निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौता भएको योजनाका प्रमुख मनीषकुमार साहले बताए । तर सो सम्झौता कार्यान्वयन नभएकोमा स्थानीयवासीले गुनासो गरेका छन् ।

२०७९ जेठ ३१ गतेसम्म व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया करीब ३१ किलोमिटर सडकखण्ड अन्तर्गत परवानीपुर–गण्डक नहरसम्म ३.९२ किलोमिटर सडक निर्माणको काम ७७ प्रतिशत भएको छ भने गण्डक नहरदेखि हरपतगंज चोकसम्म ३.५० किमी सडक निर्माणको काम ९१.४४ प्रतिशत भएको छ । हरपतगंज चोकदेखि श्रीसिया सुक्खा बन्दरगाहसम्म ३.५० किलोमिटर सडक काम ७६ प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपाल, सिमरासम्म ४.५६ किमी सडक ९७ प्रतिशत, सूर्य नेपाल–आर्मी क्याम्प जीतपुरसम्म ५.८० किमी सडक ६३.६१ प्रतिशत, आर्मी क्याम्प जीतपुरदेखि गण्डक चोकसम्म ४.२४ किलोमिटर सडक ९३.४ प्रतिशतसम्म निर्माण कार्य भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here