प्रस, वीरगंज, ७ असार/
जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको चालू आर्थिक वर्षका गतिविधि तथा आगामी समयको लागि रणनीतिसहितको बैठक मङ्गलवार सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले विपद् न्यूनीकरणको लागि आवश्यक सामग्री तथा कार्ययोजना बनाउन जिल्लाका १४ वटा पालिकासँग सहमति गरेको छ । बैठकले २०७८ पुस १ गतेदेखि आगलागी र बाढीपहिरोबाट क्षति भएका १७ जनालाई रु सात लाख ९१ हजार विपद् कोषबाट राहत वितरण गरिएको, २० लाख रुपैयाँबराबरको विपन्न, ज्येष्ठ नागरिक, बालबालिका गरी एक हजार ३०० जनालाई बडी वार्मर, टोपी, कम्बल खरीद वितरण गरिएको जानकारी गराइएको थियो ।
बैठकले सबै स्थानीय तहले सात दिनभित्र विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री खरीद गर्नुपर्ने, मनसुन आइसकेकोले छिट्टै कार्ययोजना बनाइ विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने, पर्सामा रहेका बस्तीहरूमध्ये उच्च जोखिममा रहेका बस्ती पहिचान गरी विपद्को बेला स्थानान्तरण गर्दा आवश्यक पर्ने भाँडाकँुडा, कपडा, औषधि, पानी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने, प्रत्येक गाउँपालिकाले रबर बोट, डोरी, लाइफ ज्याकेट, स्टे«चर, बेल्चा, पिकअप, नाइलनको डोरी, टर्चलाइट, पञ्जा खरीद गर्नुपर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले पर्सा जिल्लामा रहेका खोलानालाबाट घर, बस्ती, खेत कटान हुने अवस्था रहेकोले सोको पहिचान गरी सिंचाइ डिभिजन कार्यालयमार्फत तटबन्धको व्यवस्था मिलाउनुपर्ने, सबै स्थानीय तहमा रहेका नाला, कल्भर्ट, टर्सरीको सरसफाइ गराउनुपर्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय तहका निर्वाचित पदाधिकारी, कार्यकारी अधिकृत, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी–व्यवसायीलगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन सहायक प्रजिअ भीमकान्त पौडेलले गरेका थिए ।