प्रस, परवानीपुर, ५ असार/
वीरगंज महानगरपालिकाको असार १० गते हुने नगरपरिषद्को लागि अहिले ३२ वटा वडाबाट योजना छनोट गर्ने कार्य भइरहेको छ ।
कतिपय वडाले पारदर्शी ढङ्गले सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गरी योजना छनोट गर्ने कार्य गरिरहेका छन् भने कतिपय वडाले गुपचुप किसिमले कागजमैं योजनाको कामलाई अन्तिम रूप दिइरहेका छन् ।
यसैबीच, वीरगंज महानगरपालिका–६ गहवा रेशमकोठी क्षेत्रको योजना छनोट गर्नको लागि आइतवार बिहान साढे ७ बजे माईस्थान पार्कमा सार्वजनिक कार्यक्रम राखी योजना छनोटको काम गरिएको छ ।
वडा नं ६ का वडाध्यक्ष जयप्रकाश शाह अग्रवालको संयोजकत्वमा आयोजना गरिएको योजना छनोट कार्यमा सर्वपक्षीयरूपमा आएका सल्लाह, सुझाव र योजनाहरूलाई आगामी नगरपरिषद्मा लैजाने सहमति र निर्णयसमेत भएको उनले बताए । उनले जनताको काम जनताकै आँगनमा पारदर्शी किसिमले हुने ठोकुवा गर्दै आगामी दिनमा पनि यो प्रचलनलाई लागू गर्ने जानकारी गराए ।
योजना तर्जुमा छलफलमा पूर्व उपमेयर शान्ति कार्की, नेपाली काङ्ग्रेसबाट निर्वाचित वडासदस्य तथा वडा अगुवाहरूको सहभागिता थियो ।