प्रस, वीरगंज, १ असार/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्मणवा पार्कलाई गुरुयोजना अनुसार ज्येष्ठ नागरिकमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
ज्येष्ठ नागरिकप्रति दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका अवसरमा बुधवार सो पार्कमा आयोजित कार्यक्रममा उनले १०–१५ वर्षपछि आफूहरू पनि आउने ठाउँ यही भएकोले दीर्घकालीन सोचका साथ पार्क निर्माण गरिने बताए । निर्माण योजना कम्तीमा आगामी ५० वर्षको लागि सोचेर बनाउनुपर्छ, त्यसै योजना अनुसार काम हुन्छ, उनले प्रतिबद्धता जाहेर गर्दै भने । उनले गुरुयोजना लिएर आएको खण्डमा आफूले काम अघि बढाउने बताए । नगरप्रमुख सिंहले बालबालिकालाई सानैबाट उचित संस्कार दिएर हुर्काउन सके मात्रै आफू वृद्धवृद्धा हुँदा छोराछोरीले हेला गर्ने अवस्था नआउने बताए ।
अभिभावकले कमाउने सन्तानलाई मात्र माया गर्ने तर नकमाउनेलाई हेला मात्र गर्ने प्रवृत्ति रहेको हुँदा त्यो वातावरण निर्माण पनि अभिभावकले गर्न नहुने बताए । उनले ज्येष्ठ नागरिक समाजको गहना भएकाले आफूभन्दा ठूलालाई सम्मान गर्न जबसम्म घरपरिवारमा जनचेतना जागृत हुँदैन, तबसम्म ज्येष्ठ नागरिकप्रतिको हेर्ने र दुव्र्यवहार गर्ने दृष्टिकोणमा कमी नआउने बताए । उनले छोराछोरीलाई हुर्काउन जसरी ज्येष्ठ नागरिकको योगदान हुन्छ, त्यसैगरी नयाँ पुस्ताले पनि ज्येष्ठ नागरिकलाई सहयोग र साथ दिनुपर्ने बताए ।
नगरप्रमुख सिंहले जनहितका लागि काम गर्न खोज्दा पनि अड्चन आउने गरेको बताए । वर्षौंदेखि जीर्ण वीरगंज–घण्टाघर क्षेत्रको सडक आफू आएसँगै आम नागरिकको सहजताका लागि बनाउन खोज्दा विभिन्न खाले अड्चन आएको बताए ।
अख्तियारले पत्र नै काटेर बोलाएको छ, मैले जीर्ण सडकको मर्मत गर्न खोजेको थिएँ, कसैको गलत गर्न खोजेको थिइनँ, उनले भने । सामाजिक हितका लागि काम गर्दा पनि कोही कसैले त्यो सडक किन बनाइस् भन्ने गरेको देख्दा आश्चर्य लागेको उनले बताए । उनले राम्रो काम गर्दागर्दै पनि अख्तियारले जतिपटक बोलाए पनि आफू नथाक्ने र जनहितको काम जारी राख्ने बताए ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, उद्योगी अशोक बैद, ज्येष्ठ नागरिक सङ्घका पूर्वअध्यक्ष पशुपति विक्रम शाह, सङ्घका जीतेन्द्र पुरुष ढकाल, डा रामऔतार खेतान, नेका पर्साका उपसभापति रामनारायण कुर्मी, नेता श्याम पोखरेललगायतको सहभागिता थियो ।