प्रस, गरुडा, २९ जेठ/
बज्जिका भाषामा साहित्य सिर्जना गर्दै आएका बाल साहित्यकार अभिजित रामलाई राष्ट्रियस्तरको साहित्यिक संस्थाले प्रदेश बालप्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।
हेटौंडामा केन्द्रीय कार्यालय रहेको नवसर्जक साहित्य चौतारी नेपालको प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा मधेस प्रदेशबाट अभिजित रामलाई सात हजार ७७७ रुपैया नगद, प्रमाणपत्रसहित सम्मानित गरिएको हो ।
हेटौंडामा नै आयोजित कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपालले सात प्रदेशका एक/एक सर्जकसहित मधेस प्रदेशका रामलाई सम्मानित गरेका हुन् ।
पुरस्कृत सबै बालप्रतिभालाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले थप पाँच/पाँच हजार रुपैयाँले सम्मानित गरेको थियो । कार्यक्रममा राष्ट्रिय पुरस्कारबाट वरिष्ठ साहित्यकार प्रमोद प्रधानलाई सम्मानित गरिएको थियो ।
बाराको सिम्रौनगढका राम मधेसी दलित हुन् । बज्जिका भाषामा सानैदेखि कलम चलाइरहेका राम यसअघि रौतहटको गढीमाई नगरपालिकाले आयोजना गरेको राष्ट्रियस्तरको कविता प्रतियोगितामा पनि पुरस्कृत भएका थिए । अभिनयमा पनि रुचि भएका बालसाहित्यकार रामले छिट्टै आफ्नो एउटा किताब प्रकाशन हुन लागेको बताएका छन् ।
रौतहटको गरुडामा रहेको श्री माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बालप्रतिभा राम नवसर्जक साहित्य चौतारी नेपालको मधेस प्रदेशका कोषाध्यक्षसमेत हुन् ।