प्रस, सिम्रौनगढ, २९ जेठ/

बाराको सिम्रौनगढ–६ टोल सिम्रौनगढ गोरु बजारनजीक रहेको सङ्कटमोचन हनुमान मन्दिर विगत ४६ वर्षदेखि निर्माणाधीन रहेको तर हालसम्म सम्पन्न हुन सकेको छैन ।

विसं २०३३ मा रामजी शर्मा नामक व्यक्तिले यहाँ एउटा पीपलको कलम (सानो झार) लगाएर त्यहाँ पूजा शुरू गरेका थिए । पछि रामाकान्त दास भन्ने साधु र स्थानीय सरजुग महतो नुनिया र   उनका साथीहरू मिली सो स्थानमा हनुमानको ध्वजा गाडेर सामूहिकरूपले पूजा गर्न स्थानीय गाउँलेहरूको ध्यानाकर्षित गराएका थिए ।

सो बेलामा सिम्रौनगढ इलाकाभरि  सो युवक समूहको निकै चर्चा थियो । उक्त युवक समूहकै सदस्यहरू विमलकिशोर मल्लिक, स्व हरिहर महतो नुनिया, नागेन्द्र महतो नुनिया, सैनुल अन्सारी, स्व जियाला साह कानू, रामेश्वरप्रसाद मेहता, रामऔतार ठाकुर लगायतले सो स्थानमा स्थानीय गाउँलेहरूको सहयोगमा सङ्कटमोचन हनुमान मन्दिरको सामूहिकरूपमा शिलान्यास गरी मन्दिरको जग पनि तैयार गराएका थिए ।

यस सम्बन्धमा सोही बेलादेखि कहिले जनस्तरबाट, कहिले गाउँ पञ्चायतबाट, कहिले गाविसबाट त कहिले नगरपालिकाबाट तैयार हुँदै लगभग आधा शताब्दी बितिसकेको छ तर अझसम्म सो मन्दिर निर्माण सम्पन्न नभई अधुरै छ ।

कछुवाको चालमा निर्माण भइरहेको यो मन्दिरको निर्माण कार्य अब कहिले पूरा हुन्छ भन्न गा¥हो छ । यस मन्दिरमा आधारशिला राखिएका दुर्गा मन्दिर, त्रिलोकीनाथ महादेव मन्दिर, पार्वती मन्दिर, विश्वकर्मा मन्दिर र विष्णु मन्दिर बनेर सञ्चालनमा आइसकेका छन् । तर यो सङ्कटमोचन हनुमान मन्दिर किन अधुरो रहेको छ ? सञ्चालनमा आएका आधारशिला मन्दिरहरू निजी तवरमा तथा गुठीले बनाएका हुन् । तर यो सङ्कटमोचन हनुमान मन्दिर अभिभावकविहीन रहेकोले निर्माण सम्पन्न हुन सकेको छैन । यो मन्दिरको निर्माणमा हालसम्म छतको ढलानसम्म भएर काम रोकिएको छ ।

यो मन्दिरनिरको पीपलको रूख पनि काटिएको छ तथा केही जग्गा अतिक्रमण पनि भएको स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here