काठमाडौं, २९ जेठ/रासस

 ‘एएफसी एशियन कप २०२३’ छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जीतमा युसेफ अलसुलेमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।

खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८औं मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई शुरूआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४८औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।

यसैगरी खेलको ७३औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।

यता कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेशियाले हराएको थियो । उक्त प्रतियोगिता अन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेल इन्डोनेशियासँग यही जेठ ३१ गते खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here