प्रस, परवानीपुर, २८ जेठ/
भोजपुरी लोकनाचका चर्चित जोकरको नाम हो झोटीलाल (राम) । उनको घर पर्सा, बहुदरमाई नपा–७ फुलकौल र ससुराली वीरगंज–१७ अलौ हो । उनी ७० वर्षका भइसकेका छन् तर अहिले पनि उनको कलाकारिताले निरन्तरता पाइरहेको छ ।
२० वर्षकै उमेरमा आफ्नै गाउँ फुलकौलको नाचमा क्यारियर शुरू गरे । त्यसपछि बलुवाको नाचमा १५ वर्ष, तीन लखियाको नाचमा दुई वर्ष, बिहारको अनन्दीगंज बेल्वाको नाचमा १३ वर्ष र अहिले पुनः आफ्नै गाउँ फुलकौलकै रूपा ठाकुरको नाचमा आबद्ध छन् ।
वर्षमा अढाई लाखको सलिन्दा पारिश्रमिक लिने झोटीले नाचबाटै १० कठ्ठा जग्गा किने, तीन छोरा, दुई छोरी गरी पाँचजनाको परिवार पालेर हुर्काए । उनले पुरानो समयमा नाचको महŒव निकै रहे पनि अहिले मोबाइल, टिभी, ट्याब, सिनेमालगायत मनोरञ्जनका प्रशस्त साधन भएकाले मौलिक नाचको अस्तित्व ओझेलमा पर्दै गएको बताए ।
उनले जुन कलाकारसँग वास्तविक कला र प्रतिभा छ, उसले पैसा कमाउन कठिन नभएको चर्चा गर्दै भोजपुरी नाचलाई थिएटरमा प्रस्तुत गर्न वीरगंजमा थिएटर कल्चर विकास गर्नु आवश्यक रहेको सुझाव दिए । उनको चुटकिला तथा हास्यव्यङ्ग्यसहितको प्रस्तुति हेर्न दर्शक राति १ बजेसम्म नाच हेर्छन्, अनि पेट मिचिमिची हाँस्छन् ।