नरेश यादव, पर्सागढी २७ जेठ/
पर्सागढी नगरपालिकाले स्थानीय किसानले मकै बाली भिœयाएपछि सो सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
पर्सागढी नपाको आयोजनामा मकै उत्पादन प्रवद्र्धन बाली विकास कार्यक्रम अन्तर्गत मकै कार्यक्रमबारे अभिमुखीकरण गोष्ठी बुधवार आयोजना गर्दा सहभागी किसानहरूले नपाको खुलेर विरोध गरेका थिए ।
गोष्ठीमा नगरपालिका अन्तर्गत रहेको तीनवटै मकै ब्लक–सुनखरी कृषि सहकारी संस्था, सुशासन कृषि सहकारी संस्था, पर्सा कृषि समूहका कृषकहरूको सहभागिता थियो र उनीहरूले मकै बाली भित्रिएपछि सोसम्बन्धी गोष्ठी गर्नुको औचित्य नभएको भन्दै नपाको आलोचना गरेका थिए ।
गोष्ठीमा मकैबालीको उत्पादन, बालीमा लाग्ने कीराको समाधान कसरी गर्ने, नपाले निश्शुल्क दिने विभिन्न कृषि सामग्रीहरूबारे कृषि शाखा प्रमुख खड्गबहादुर खत्रीले जानकारी गराएका थिए ।
कार्यक्रममा कृषक सबिर अन्सारीले नपाको काम कारबाई कागजमा मात्र सीमित रहेको आरोप लगाए । उनले किसानहरूले यो सिजनको मकै बाली भिœयाइसकेको तर नपाले कुनै पनि सहयोग नगरेको बताए । उनले मकै बाली गर्नु अगावै दिनुपर्ने ज्ञानगुनका कुरा मकै बाली सकिएपछि दिनुको अर्थ नभएको तर्क गरे । नपाको काम आलोचनायुक्त रहेको भन्दै उनले यसलाई सुधार गर्न सुझाव दिए ।
यसैगरी अर्का किसान दीपेश नेपाल, विक्रम कार्कीले पनि किसानहरूले मकै बाली भिœयाइसकेको बेला औपचारिकता पूरा गर्न यस वर्ष पनि नपाले कार्यक्रम गर्नु दुःखद भएको बताए । नपा यस मानेमा पनि किसानमैत्री नभएको पुष्टि भएको उनीहरूको आरोप थियो ।
गोष्ठीमा नपाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले आगामी वर्ष किसानहरूको गुनासो, सल्लाह अनुसार कार्य हुने बताए । यो आवमा किसानहरूको लागि क्षमता विकास, समयमा बीउबिजनको उपलब्धताबारे नपा गम्भीर रहेको बताएका थिए ।
अब हुने खेतीसम्बन्धमा नपाले किसानहरूलाई अगावै सचेतना गराउने र सहयोग उपलब्ध गराउने उनले आश्वासन दिए ।
कार्यक्रममा वडाध्यक्ष शेख खुर्शिदलगायत सहभागिता थियो ।