अफगानिस्तान, २७ जेठ/एएनआई
अफगानिस्तानका महिलाहरूको एउटा समूहले बिहीवार काबुलमा तालिबानीले उनीहरूको अधिकार उल्लङ्घन गर्दै सरकारी संस्थाहरूबाट महिलाहरूलाई हटाएकोमा विरोध प्रदर्शन गरेको छ ।
समूहले ‘अफगानिस्तानको महिला निजामती सेवा रोजगार’ को ब्यानरसहित विरोध प्रदर्शन गर्दै तालिबानीलाई महिलाहरूलाई काममा फर्कन अनुमति दिन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ ।
कामचलाउ सरकारका पदाधिकारीले सरकारी संस्थामा महिलालाई काम गर्न दिने वा नदिने भन्ने निर्णय गर्ने बारम्बार बताउँदै आए पनि उनीहरूको भविष्य अझै स्पष्ट हुन सकेको छैन ।
“महिला कर्मचारीहरू जसको काम घटाइएको छ वा बदलिएको छ – पुरुष कर्मचारीहरूको उपस्थितिको कारण उनीहरूले तलब पाउने कुनै आशा छैन”– निजामती सेवामा कार्यरत कर्मचारी समिरा आजमीले भनिन् ।
यी महिलाहरूका अनुसार उनीहरू १० महीनादेखि काम गर्न असमर्थ छन् ।
“हामी आफ्नो धार्मिक अधिकार जोगाएर काममा फर्कन चाहन्छौं”– निजामती सेवामा कार्यरत फयकाले भनिन् ।
प्रदर्शनकारीहरूले देशमा छैठौं कक्षाभन्दा माथिका छात्राहरूले अध्ययन गर्ने विद्यालय पुनः सञ्चालन गर्ने माग गरेको टोलो न्यूजले उल्लेख गरेको छ ।
“हाम्रो माग, हाम्रा छोरीहरूका लागि विद्यालय खोल्नुहोस्, अन्यथा हामीले हाम्रा छोरीहरूलाई विदेश पठाउनुपर्नेछ”– अफगानिस्तानको महिला निजामती सेवा रोजगार सङ्घकी प्रमुख नादिरा रशिदीले भनिन् ।
सरकारी संस्थामा अधिकांश महिला कर्मचारीलाई पहुँचबाट वञ्चित गरिएको छ ।
तालिबानीले गत अगस्तमा राज्यसत्ता नियन्त्रणमा लिएपछि सरकारी संस्थाहरूमा अधिकांश महिला कामदारहरूलाई कामको पहुँचबाट वञ्चित गरिएको छ र तिनीहरूमध्ये धेरैलाई बर्खास्तसमेत गरिएको छ ।
यसैबीच तालिबानले छात्राहरूको माध्यमिक शिक्षा निलम्बन गर्दै हिजाब कडारूपमा लागू गरेको
छ ।
उनीहरूले अफगान महिलाहरूलाई राजनीतिक र सार्वजनिक जीवनमा भाग लिन कुनै अवसर प्रदान गरेका छैनन् । लैङ्गिक विभेद कडारूपमा लागू गरिएको छ ।
गत वर्ष अगस्तदेखि अफगान महिलाविरुद्ध तालिबानी अत्याचार निरन्तर बढ्दै गएको छ र महिला अधिकार विरुद्ध प्रतिबन्ध लगाएको छ । रासस