प्रस, परवानीपुर, २६ जेठ/

बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित श्री लक्ष्मीनारायण जगदम्बामाई मन्दिरमा मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ ।

करीब तीस वर्षदेखि निर्माण भइरहेको लक्ष्मीनारायण मन्दिर र चार वर्षदेखि निर्माण भइरहेको जगदम्बामाई मन्दिरको निर्माण सम्पन्न भई प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठाकै लागि करीब २५ लाख लागतमा श्री लक्ष्मीनारायण जगदम्बामाई प्राणप्रतिष्ठा महायज्ञ आयोजना गरिएको छ ।

जेठ १९ गते जलयात्रा गरी शुभारम्भ भएको महायज्ञ जेठ २७ गतेसम्म पूजापाठ र २८ गते विसर्जन हुने कार्यतालिका छ । महायज्ञमा सर्कस, झुलुवालगायत मनोरञ्जनात्मक कार्यक्रम र मेला लागेको छ । मेलामा साँझ ६ बजेदेखि राति २ बजेसम्म भजनकीर्तन तथा रामलीला र श्रद्धालु भक्तजनको भीडभाड लागिरहेको छ ।

दुईवटा मन्दिर निर्माणमा करीब एक करोड ६० लाख खर्च भइसकेको महायज्ञ आयोजक समितिका अध्यक्ष सत्यनारायण साहले जानकारी गराए । मन्दिर निर्माणको क्रममा चाचान समूह, रुँगटा समूह, केडिया समूह, नेकपा एमालेकी पूर्वसांसद नजमा खातुन, लोसपाका नेता जितेन्द्र सोनल, परवानीपुर गापा–४ कार्यालय तथा स्थानीय गाउँलेले चन्दा सहयोग गरेका छन् । मन्दिरसँगै तीन कोठे धर्मशाला निर्माण भएको छ भने करीब सात लाखको मूर्ति राजस्थानबाट खरीद गरी ल्याइएको छ ।

महायज्ञमा पर्सा, बाराका दर्जनौं गाउँका हजारौं श्रद्धालु भक्त दैनिक आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here