एउटा प्रचलित भोजपुरी उखान छ–नयाकी घोडी चाल देखाए । अर्थात नयाँ घोडीले आफ्नो चाल राम्रो देखाउँछे । जसैजसै पुरानो हुन्छे, पुरानो घोडी सरह सुस्त काम गर्छे । अहिलेसम्म यो उखानले स्थान पाउनुको कारण हाम्रो चालचलनमा उही पारा देखिनु हो । वीरगंज महानगरपालिकाको हकमा पनि यो उखान चरितार्थ हुँदै आएको छ । अहिले नगरप्रमुखलगायत उपप्रमुख, वडाध्यक्ष र सदस्यहरू तथा कार्यपालिका सदस्यहरू नयाँ चयन भएर आएका छन् । सफाइकर्मी, नगरप्रहरी, कार्यालयका कर्मचारीहरूको कार्य अपत्यारिलो तवरबाट परिवर्तन भएको छ । महानगरसँग साझेदारीमा सफाइ कार्य हुँदै आएकोमा अहिले यस्तो भान भइरहेको छ कि सफाइ कार्य ठेक्कामा भएको थियो । साझेदार कम्पनीसँग सहकार्य तोडिने भयले अहिले नयाँ नेतृत्वलाई रिझाउन दिनरात एक गरेर सफाइ भइरहेको छ । महानगरको मेनरोडका फोहर थुपार्ने कन्टेनर र स्थानहरूमा अहिले फोहर देख्न पाइँदैन । सडक, फूटपाथ पनि नगरप्रहरीले खाली गराएका छन । उनीहरूले यो कार्य तदारुकताका साथ नयाँ नेतृत्वलाई देखाएर पहिले अल्छी, जिम्मेवारीबोध नगरेको प्रमाणित गर्दैछन् ।
सफाइ नियमित कार्य हो । व्यक्ति परिवर्तन भएर देखाउने कार्य होइन । जुनसुकै व्यक्ति नेतृत्वमा आएपनि सफाइ चुस्त दुरूस्त हुनुपर्ने हो । तर त्यसो भएन । यसैगरी नगरप्रहरीले सडक, फुटपाथ अतिक्रमण हुन नदिने, छाडा चौपाया नियन्त्रण गर्ने, बजार व्यवस्थित पार्नेलगायत दायित्व पूरा गर्नुपर्ने हो । तर त्यसो भएको थिएन । कुनै उत्सव, दिवस, जन्मोत्सव परेर सङ्घसंस्थाहरूले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाएर उक्त दिन यस प्रकारका गतिविधिहरूमा रोक लगाउने र बाँकी दिन शहर अव्यस्थित हुनेगरी क्रियाकलाप भइरहँदा मुकदर्शक बन्ने बाहेक कार्य भएको थिएन । यस कुराको प्रमाण स्वयं नवनिर्वाचित नगरप्रमुखले पनि अनुभूत नगरेको पक्कै होइन होला । नत्र उनले आफ्नो शपथ ग्रहण समारोहमा सफाइकर्मीहरू आफ्नो घर, टोलमा रातदिन सफाइमा व्यस्त हुन थालेको र सातामा एकपटक फोहर लिन जाने ट्याक्टर पनि नियमित जान थालेको भनेर व्यङ्ग गर्दैनथे । यो टिप्पणी सफाइकर्मीहरूको पोल खोल्नका लागि काफी छ । यसो भन्दा सबै सफाइकर्मीहरू कामचोर र वीरगंजको सफाइको अवस्था एकदमै जर्जर भन्न खोजिएको होइन । सफाइ कार्य यसअघि पनि भइरहेको थियो तर सन्तोषप्रद थिएन । राजाको काम कहिले जाला घाम भन्ने मनोवृत्ति व्याप्त थियो ।
अहिले आशाप्रद सफाइ कार्य भएको छ तर त्यो दीर्घकालसम्म हुने हो कि होइन भन्ने जिज्ञासा नगरवासीमा छ । महानगरपालिकाका यी कार्य बाहिर देखिएका हुन् र भित्रको पनि अवस्था त्यसै छ । सबैभन्दा आरोपित योजना शाखा मानिन्छ । किनभने भए भरका प्राविधिकहरू छन् तर वीरगंज महानगरले बनाउने सडकको स्थिति कसैबाट लुकेको छैन । महानगरपालिकाले वर्षमा एक किलोमिटर मात्रै कालोपत्रे सडक बनाओस् तर त्यो कम्तिमा दश वर्ष टिकाउ होस् । नाला बनाउँछ भने पानीको निकास होस् । यसतर्फ नयाँ नेतृत्वले ध्यान पु¥याउन जरूरी छ । यसका लागि योजना शाखालाई जिम्मेवार र जवाफदेह बनाउन जरूरी छ । होइन, नयाँ मुल्ला ज्यादा नमाज पढता है भन्ने मनोविज्ञानले ग्रस्त भएर यस्तो कार्य भइरहेको हो भने यो उत्साह शिथिल हुन धेरै कुर्नुपर्दैन ।