प्रस, वीरगंज, २४ जेठ/
जिल्ला समन्वय समितिको सभापतिलगायत अन्य पदको लागि जसपा, एमाले तथा काङ्ग्रेस र लोसपाले संयुक्त प्यानल खडा गरेका छन् । जेठ २७ गते हुने भनिएको जिससको निर्वाचनमा आज आआफ्नो दाबेदारी पेश गरेका छन् ।
जसपा र एमालेको संयुक्त प्यानलबाट सभापति र तीन सदस्य र एमालेतर्फबाट उपसभापति र चार सदस्य पदको लागि भागबन्डा भएको छ । जसपाको तर्फबाट सभापति पदमा निरञ्जनसाह सोनार भन्ने अजय सर्राफ, सदस्यहरूमा विजय कुर्मी, वयन्तीदेवी, रेखा साह भन्ने राजपतिदेवीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट उपसभापतिमा पूरन साह, सदस्यहरूमा सलीम मियाँ अन्सारी, सुशीला कामी, श्रीकान्तीदेवी थरुनी, रामप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी नेका र लोसपाको गठबन्धनले सभापतिमा सरोज चौधरी, उपसभापतिमा कुमारी सोनी, सदस्यहरूमा सन्दीप साह, मनोज रौनियार, महमुद राय, महिला सदस्यमा वसन्ती थरुनी, सीतादेवी थरुनी, भागवतीदेवी धिताल र लोसपाबाट प्रेममुखिया बिनलेउम्मेदवारी दर्ता गराएका छन् ।
पर्सा जिल्लामा चौधवटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २८ जना मतदाता रहेका छन् जसमध्ये अहिलेको संयुक्त प्यानल जसपा र एमाले गठबन्धनको पक्षमा १५ र नेका र लोसपा गठबन्धनको पक्षमा १३ मत हुने बुझिएको छ ।
अहिलेसम्म विभिन्न चरणको चुनावमा जसपा र नेका एक भई चुनाव लड्दै आएकोमा समन्वय समितिको चुनावमा फरक गठबन्धनगरेपछि नेताहरुबीच विवाद शुरु भएको छ । महानगर र वीरगंज मनपाको कार्यसमिति सदस्यको छुट्टाछुट्टै निर्वाचनमा नेका र जसपाले आआफ्नो उम्मेदवारलाई जिताएका थिए भने जिससको निर्वाचनमा नेका र जसपा फरक धारमा गएपछि जिल्ला नेतृत्वका नेताहरूबीच विवाद चुलिएको छ ।