लन्डन, २४ जेठ/सिन्हवा
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनीविरुद्ध उनकै कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।
उनीप्रति विश्वास छ भनी विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उनका दलका सांसदहरू ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका
थिए ।
योसँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमन्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतीजा राम्रो लागेको बताएका छन् । उनले सो नतीजालाई निर्णायक भनेका छन् । उनले उक्त नतीजा आफ्ना लागि धेरै राम्रो भएको बताएका थिए ।
यो नतीजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उनीविरुद्ध पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारमा पनि कटौती हुन सक्ने बताएका छन् ।
आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उनलाई कतिपय मानिसले राजीनामा दिन पनि आह्वान गरेका छन् । रासस