प्रस, परवानीपुर, २२ जेठ/

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा करीब बीस वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना लिमिटेड तथा कृषि औजार कारखाना चालू गर्ने नीति लिएको छ । सोही अनुरूप सरकारले केही बजेटसमेत छुटयाएको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घको ४६औं वार्षिक सधारणसभामा सहभागी हुन वीरगंज आएका अर्थमन्त्री जनार्दन शर्भाले उक्त कार्यक्रममा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने, वीरगंज चिनी कारखाना लिमिटेड तथा कृषि औजार कारखाना चालू गर्ने सरकारको नीति रहेको र कुनै पनि हालतमा यी तीनवटै योजना सरकारले अघि बढाउने आश्वासन दिइरहँदा अन्य वक्ताहरूले अर्थमन्त्री शर्मालाई गत जेठ १५ को बजेटमा समावेश गरिएको वीचिकालि र कृषि औजार कारखाना चल्न नसक्ने भनी टिप्पणीसमेत गरेका थिए ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्र्ने विगतको सरकारको नीति जस्तो यसपटकको अर्थमन्त्रीको नीति नहोस् भनी सचेतसमेत पारेका थिए ।

 “प्रतिनिधिसभाकै बैठकमा वीरगंजकै  नेताज्यूले भन्नुभएको छ, चिनी कारखाना र कृषि औजार कारखाना चल्यो भने उहाँले आफ्नो घरसमेत सरकारको नाममा पास गरिदिनुहुन्छ,” उनले भने, “म ईख भएको मानिस हँु, अर्थमन्त्रीज्यूमा यदि ईख छ भने साँच्चै यी उद्योग चलाएर देखाइदिनुस् ।” उनले अर्थमन्त्रीलाई यसपटक ती उद्योग निरीक्षण गरी काठमाडौं फर्किनसमेत आग्रह गरेका थिए ।

त्यसैगरी, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले लामो समयदेखि बन्द रहेका ती दुवै उद्योग बन्द भएर जीर्ण भइसक्दा पनि झन्डै चारजना अर्थमन्त्री र सातजना उद्योगमन्त्रीले वीरगंजलाई आश्वासन मात्र बाँडेको अर्थमन्त्री शर्माकै अगाडि आरोप लगाए । उनले हरेक अर्थमन्त्री र उद्योगमन्त्रीले यी उद्योग चलाउने सपना बाँडे पनि यर्थातमा केही काम नगरेको आरोप लगाए । “अब वीरगंजेली जनताले सरकारको नीति बुझिसकेको छ, करीब दुई दशकमा धेरै अर्थमन्त्री तथा उद्योग मन्त्रीहरू आउनुभयो, सबैले चलाउने कुरा गर्नुभयो, तर त्यो कुरा भाषण र कागजमा मात्र सीमित छ, अहिलेको सरकारलाई ती उद्योग चलाउन निकै चुनौतीपूर्ण छ,” उनले भने ।

त्यसैको जवाफ दिन अर्थमन्त्री शर्माले हिजो साँझ काठमाडौं फर्किने क्रममा वर्षाैंदेखि बन्द रहेको वीरगंज चिनी कारखाना लिमिटेडको स्थलगत निरीक्षण गरे । उनले मन्त्रालयको टोलीसँगै उद्योगको निरीक्षण गरी अवस्था बुझेका थिए ।

निरीक्षण गर्दा सबै मेशिन तथा पार्टपुर्जाहरू जीर्ण भएर बिग्रिसकेको र वास्तवमा चालू नै गर्नुपरे पूरै प्लान्ट नै फेर्नुपर्ने टोलीका सहभागीहरूले बताए ।

वीरगंज चिनी कारखाना सञ्चालन गर्न अन्य कार्यविधिका साथै किसानहरूलाई उखुखेतीतर्फ आकर्षित गर्न प्याकेज ल्याउनुपर्ने वीरगंजका व्यवसायीहरूको तर्क छ ।

वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखाना चालू गर्न कम्तीमा एक अर्बभन्दा बढीको बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here