प्रस, गरुडा, २१ जेठ/
रौतहटको गरुडा नगरपालिकाको नगर कार्यपालिका निर्वाचन शनिवार सम्पन्न भएको छ ।
गरुडा नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र लोसपा गठबन्धनको प्यानल विजयी भएको छ । गत वैशाख ३० गतेको स्थानीय निर्वाचन अलग–अलग लडेका एमाले, नेका र लोसपाले कार्यपालिका निर्वाचन संयुक्तरूपमा लड्दा सहज जीत निकालेका छन् ।
कार्यपालिका सदस्यमा नेकपा एमालेबाट धनमन्ती देवी, मञ्जु देवी, रजिया देवी र ध्रुव साह कानू निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली काङ्ग्रेसबाट पूनमदेवी राम, जयनारायण बैठा र सञ्जीवप्रसाद साह कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, लोसपाबाट इस्लामु कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
गरुडा नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा नेकपा एमालेका छ, नेपाली काङ्ग्रेसका छ, नेकपा माओवादी केन्द्रका दुई, जसपाका दुई, लोसपाका दुई र नेकपा एकीकृत समाजवादीका एकजना सदस्य छन् ।
कार्यपालिका चुनावमा गठबन्धन बनाएर लडेका दलले मिलेर काम गरेमा नगरपालिका सञ्चालनमा कुनै अप्ठ्यारो नहुने देखिएको छ ।