प्र्रस, वीरगंज, २१ जेठ/
पर्साको ग्रामीण भेगमा गएराति आएको हावाहुरी तथा पानीको कारण ग्रामीण बासिन्दाहरूको जनजीवन अस्तव्यस्त भएको छ ।
हावाहुरीको कारण गाउँका अधिकांश टोलमा विद्युत् पोलहरू ढलेका कारण अहिलेसम्म विद्युत् अवरोध हुनुको साथै अधिकांश घर भत्केर नष्ट भएका छन् ।
धोबिनी गापा–१ का अध्यक्ष बन्धु रौनियारका अनुसार गएराति आएको हावाहुरीको कारण अधिकांश फुसका घर भत्केर लाखौं रुपैयाँको क्षति भएको छ ।
स्थानीयहरूले बनाएको कुखुराको फार्मसमेत नष्ट भएको छ । गाउँमा विद्युत् अवरोधका कारण मोबाइलको नेटवर्कमा समेत समस्या आएको छ । विद्यालयहरू बन्द रहे पनि अधिकांश विद्यालयका भवन भत्किएको वडाध्यक्ष रौनियारले जानकारी गराएका छन् ।
हावाहुरीको कारण किसानहरूले छरेको धानको बीउसमेत नष्ट भएको छ । पोखरिया विद्युत् वितरण केन्द्रका अनुसार लङ्गडीमा आठ, भिखमपुरमा चार, बहुवर्वा क्षेत्रलगायत गरी १३ वटा स्थानीय तहमा ६० वटा पोल ढलेका कारण विद्युत् अवरोध भएको छ । आफूसँग भएको जनशक्ति रातिदेखि नै काम गरिरहेको कार्यालय प्रमुख जगरनाथ झाले बताए ।
प्रमुख झाले वीरगंज महानगरपालिकाबाहेक १३ वटा पालिकाको जिम्मेवारी पोखरियाले हेर्दै आएको तर जनशक्ति कम भएको कारण समयमा काम गर्न नसकेको बताए । प्रमुख झाका अनुसार विभिन्न गाउँमा अवरोध विद्युत् भोलि आइतवार बेलुकासम्म समाधान हुनेछ । रातिको आएको हावाहुरीको कारण ठोरीदेखि विन्ध्यवासिनीसम्म विद्युत् अवरोध भएको उनले बताए ।