• राजेश मिश्र

यात्राको चौथो दिन अर्थात् चैत १८ गते शुक्रवारका दिन बिहान आँखा खुल्दा सात बजिसकेको थियो । आज वाराणसी देखि वीरगंज फर्किने कार्यक्रम थियो । झन्डै तीन सय पचास किमिको यात्रा गर्नुपर्ने भएकोले वाराणसीदेखि हामी चाँडै हिंड्न चाहन्थ्यौं । नित्यकर्मबाट निवृत्त भई लत्ता–कपडा प्याक गर्दै बिहानको नौ बज्यो । होटलबाट चेक आउट भई गाडीमा सवार भइयो । ‘जय भोले’ को जयकार गरेपछि गोदौलिया–लङ्का मार्गमा गाडी गतिमान भयो ।

भीडभाडका कारण झन्डै तीन किमिको दूरी तय गर्न आधा घण्टाभन्दा बढी लाग्यो । अन्ततः हामी बिएचयुको प्रवेश द्वार अर्थात् लङ्का चोक आइपुग्यौं, जहाँ छोरा प्रवीण मिश्रलाई ओर्लिनु थियो । आज बिहानदेखि छोराको मनोविज्ञान सुस्त प्रतीत भइरहेको थियो । लगभग बहत्तरी घण्टादेखि सँगै रहेको हामी आज छुट्टिंदै थियौं । खल्लोपन मेरो हृदयभित्र पनि उस्तै थियो । छोराले ढोग–प्रणाम गरी बनारस हिन्दू विश्वविद्यालय तर्फ प्रस्थान ग¥यो ।

लङ्का चोकदेखि डिएलएफ मार्ग हुँदै गाडी अघि बढिरहेको थियो । तीन/चार किमी ननाघ्दै अचानक विकाश दाईको मुखबाट ‘राजाबाबू (चालक) गाडी रोक’ भन्ने आवाज सुनियो । मैले सोधे, “के भयो दाइ ?” उनी मुसुक्क हाँस्दै गाडीबाट ओर्लिए । जब उनले इशाराले पुडी–तरकारीको पसल देखाए, तब रहस्य थाहा भयो । भोजपुरी लोकोक्ति, ‘जोगिया के भावे ऊ वैदा फुर्मावे’ भनेझैं टन्न पुडी–तरकारी–जलेबी खाइयो । त्यसपछि छेउमैं रहेको पान पसलमा बनारसी पान ग्रहण गरेपछि यात्रा प्रारम्भ भयो ।

सारनाथ

वाराणसीदेखि पूर्वोत्तर झन्डै दश किमिको यात्रापछि प्रसिद्ध बौद्ध धर्मस्थल सारनाथको ठूलो बोर्ड दृष्टिगत भयो । त्यहाँबाट सारनाथ केवल दुई किमी टाढा थियो । सारनाथको नाम सुनेको तर यस अघि गएका थिएनौं । त्यस कारण थोरै समयको लागि भए पनि सारनाथ घुम्दै जाने कुरामा हामी सहमत भयौं । सारनाथमा अशोकको चतुर्मुखी सिंह स्तम्भ, भगवान् बुद्धको मन्दिर, तिब्बती बौद्ध मठलगायत विविध दृश्यावली अवलोकन गरी गाडी राजमार्गमा हुइँकन थाल्यो ।

राजमार्ग

सारनाथबाट हिंडेको केही बेरमा भारतको राष्ट्रिय राजमार्गमा गाडी सर्रर गुडिरहेको थियो । न खाल्डाखुल्डी, न ढकचक । कुनै पनि राष्ट्र समृद्ध हुनुको पछाडि विविध पूर्वाधारहरूको आवश्यकतासँगै सकडको विकास प्रमुख आवश्यकता हो । भारतीय राजमार्गकोे विकास र विस्तारको कथा जति वर्णन गरे पनि कम हुन्छ ।

भारतीय राजमार्गमा यात्रा गरिरहँदा लगभग सात वर्षदेखि पटक–पटक म्याद थप्दै हालसम्म सम्पन्न हुन नसकेकोे पथलैया–वीरगंज करिडरकोे सडकको कथा र व्यथा मस्तिष्कमा प्रतिविम्बित भइरहेको थियो ।

बलियाको भोजन

दिउँसोको दुई बजिरहेको थियो । वाराणसीमा पुडी–तरकारी खाएर हिंडेको हामीलाई अब भोकको आभास हुन थालेको थियो । चोक–चौबाटो आउने बित्तिकै होटलको खोजीमा हाम्रो ध्यान सडकको दायाँ–बाया केन्द्रित हुन्थ्यो ।

बलिया जिल्लाको नागरा–सिकन्दरपुर मार्गको गौरा मधुपुरा भन्ने स्थानमा गाडीमा पेट्रोल हालेर निस्कियौं । उक्त पेट्रोल पम्पदेखि झन्डै पचास मिटर पर एउटा ढाबा देखा प¥यो । दुई/चारजना चालक र सहचालकहरू खाना खाइरहेकाबाहेक ढाबामा खासै भीड थिएन । सोही ढाबामा गाडि रोकियो । ढाबा सञ्चालक गोपालगंजको भएकाले हामीबीच हिमचिम बढ्न बेर लागेन । हामीले सुझाएको ताजा परिकार पकाउने कार्यमा उनीसमेत कर्मचारीहरू तल्लीन भए ।

तापमान सहि नसक्नु थियो । खाना पाकिरहँदा हामी चीसो पेय पिउँदै गफ गरिरहेका थियौं । लभगभ एक घण्टापछि खाना तयार भयो । ढाबा अगाडि फराकिलो ठाउँमा चौकी (काठको खाट)को वरिपरि कुर्सीमा हामी विराजमान भयौं । भात, दाल, भिंडी तथा परवलको तरकारी, अचार, प्याज, मुली आदि थपीथपी खायौं । उक्त ढाबामा लगभग दुई घण्टा व्यतीत गरेपछि प्रस्थान ग¥यौं ।

घाघरा नदी

खाना खाएपछि सुस्ती बढ्नुका साथै आँखा झ्यापझ्याप हुन थाल्यो । गाडी चलिरहँदा निद्रा लागेमा चालकसमेत प्रभावित हुने सम्भावनालाई मध्यनजर गरी मैले आआफ्नो यात्रा वृत्तान्त सुनाउन आग्रह गरें । यस प्रयासले रङ्ग ल्यायो । बिस्तारै सबैको निद्रा भङ्ग हुन थाल्यो । बलिया जिल्लाको विभिन्न शहर र बजार हुँदै गाडी अघि बढिरहेको थियो । अचानक गाडी त्यहाँ रोक्नुप¥यो, जहाँ गुगल मैपले सुनसान र कच्ची बाटोतर्फ इङ्गित ग¥यो । पक्की बाटोमा सरर गुडिरहेको गाडी अनजान र सुनसान कच्ची बाटोमा मोड्नु अत्यासलाग्दो परिस्थिति थियो । हामी अलमलमा परेकै बेला चालकलाई उक्त बाटो स्मरण भयो । उसले भन्यो, “यही रास्ता जायेगा, सर । मैं इस रास्ते से कुछ महीने पहले एकबार आया था । आगे घाघरा नदी है ।”

कच्ची तथा साँघुरो बाटोमा नदी छेउसम्म करीब दुई किमी बालुवाको रेत थियो । सोही रेतमा गाडी बिस्तारै अघि बढिरहेको थियो । चालक उक्त बाटोको जानकार नभएको भए गाडी फस्ने सम्भावना प्रबल थियो । थोरै गल्तीले बालुवाको रेतमा गाडी पँmस्न सक्थ्यो । दुई फिट चौडा र चार/पाँच फिट लामो फलामको पातामाथि गाडी गुडाउनु कम चुनौतीपूर्ण थिएन । सोही बेला एउटा मोटरसाइकल विपरीत दिशाबाट आइरहेको थियो । चालकले गाडी ठाउँमैं रोक्यो तर लेनबाट उतारेन । उता मोटरसाइकल चालकले पनि गाडी रोकिराख्यो । पछि मोटरसाइलक चालक नै हार मानेर लेनबाट मोटरसाइकल तल झा¥यो । खोला पार गरेपछि हामी उत्तर प्रदेशको बलिया जिल्लाबाट बिहारको सिवान जिल्ला प्रवेश ग¥यौं ।

लगभग चालीस किमीको यात्रापछि गाडी पुनः राष्ट्रिय राजमार्गमा गुड्न थाल्यो । सिवान शहर हुँदै सिवान–रक्सौल सडकखण्डमा आइपुग्दा साँझको साढे सात बजिसकेको थियो । रक्सौल अब केवल एक सय पैतीस किमी टाढा थियो ।

सिवानदेखि छब्बीस किमी टाढा मीरगंज शहरको बाइपास सडक हुँदै थावे आइपुग्यौं । आराम र चियापान गर्ने भन्दै गाडी रोकियो । पानी पिउँदै थावे माताको चर्चा शुरू भयो । भोलिपल्ट शनिवारदेखि चैती नवरात्र शुरू हुँदै थियो । नवरात्रिको अवसरमा सीमाञ्चल क्षेत्रका थुप्रै नेपालीहरू पहिलेदेखि योजना बनाएर आउँछन् । तर हामी चैते दशैंको पूर्व सन्ध्यामा थावेमा विराजमान छौं । यस्तो अवसरमा थावे आएर दर्शन नगरी कसरी फर्किने ? आदि चर्चाले भोलि दर्शन गरेर जाने निधो भयो । थावे चोकदेखि लगभग दश मिनेटको दूरीमा गोपालगंजको एक होटलमा रात्रि विश्राम भयो ।

थावेवाली माता

गत चैत १९ गते शनिवारको दिन चैती नवरात्रको घटस्थापना थियो । होटलबाट स्नान गरेर गोपालगंजदेखि झन्डै १२ किमी दक्षिण थावे माताको मन्दिरतर्फ प्रस्थान गरियो । थावे चोकदेखि पूर्व लगभग पाँच सय मिटर मन्दिरको छेउसम्म दुवैतिर मिठाई तथा पूजन सामग्रीका थुप्रै पसल थिए । झन्डै अठाइस वर्षपछि थावे माताको दर्शन गर्ने अवसर पाएको थिएँ । उहिले खुला क्षेत्रमा अवस्थित सानो आकारको मन्दिर अहिले फराकिलो प्राङ्गणसहित भव्य मन्दिरमा परिणत भइसकेको छ ।

मन्दिर प्राङ्गणमा भक्तजनको घुइँचो थियो । भक्तजनसँगै हामी पनि लामबद्ध भई अघि बढिरहेका थियौं । वर्गाकार मन्दिरको मध्यबिन्दुमा माताको मन्दिर अवस्थित छ । माता भगवतीको दर्शन–पूजन गरेर हामी बाहिर निस्कियौं ।

थावे माताको मन्दिरभन्दा दक्षिण सय मिटरको दूरीमा रहषु भगतको मन्दिर छ । उक्त मन्दिरमा रहषु भगतको शिर फाडेर माताको हत्केला निस्केको र बाघले दाइँ गरिरहेको प्रतिमा दृष्टिगत भयो । पौराणिक मान्यता अनुसार परमभक्त रहषुको आह्वानमा भारतको असम राज्यको कामाख्यादेखि कोलकाता (कालीमाता), पटना (पटनदेवी), अमी (छपरा जिल्लामा देवी दुर्गाको प्रसिद्ध स्थान) बाट माताको सवारी थावेमा भयो । रहषुको शिर फाडेर प्रत्यक्ष दर्शन दिनु भएको किंवदन्ती छ । भारतमा ५२ शक्तिपीठमध्ये थावे माताको मन्दिर पनि एक हो ।

रहषु भगतले किन मातालाई आह्वान गरे ? किंवदन्ती अनुसार राजा मनन सिंह हथुआ राज्यका राजा थिए । उनी आफूलाई माता भगवतीको सबैभन्दा ठूलो उपासक र परमभक्त ठान्थे । घमण्डमा चुर राजाले आफ्नो अगाडि अरू कसैलाई माताको भक्त ठान्थेनन् ।

एक समय हथुवा राज्यमा अनिकाल प¥यो । कामाख्या देवीको सच्चा भक्त थावेका रहषु भगत थिए । रहषु भगत दिउँसो घाँस काटेर राति दाइँ गर्थे । माता भगवतीको कृपाले घाँसबाट अन्न झथ्र्याे । घाँसको दाइँ गर्न रहषु भगतले बाघ जोताउँथे भन्ने कथा प्रचलित छ । दैवीशक्ति प्राप्त रहषु भगतको कारण हथुवा राज्यका जनताको भरणपोषण हुन थाल्यो । राजा मनन सिंहलाई यो कुरा पाच्य भएन । उनले रहषु भगतको भक्तिमाथि प्रश्चचिह्न उठाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here