- डा शिवशङ्कर यादव
हिन्दीमा एउटा नारा छ– रोटी, कपडा और मकान । आजकालको हिसाबले कपडाबीचमा आएको ठीकै छ । नेपालीमा पनि एउटा नारा छ– गाँस, बास र कपास । यी दुवैमा मलाई नेपाली नारा राम्रो लाग्छ । मानिसलाई भोजनपछि ओडारको आवश्यकता थियो । त्यसपछि मात्र वस्त्रको । त्यही ओडार विकसित भएर अमारी वा आवास बनेको हो । हडप्पा र मोहन्जोदडोले नगर सभ्यताको बयान गर्छ । भनिन्छ कि त्यो द्रविड सभ्यताको देन हो । आर्यहरू ग्रामीण सभ्यताका जननी थिए । उनीहरूले बनाएका हलो र फाली, पहिया, जाँता, आरा आदि त्यति नै क्रान्तिकारी थिए, जति आज न्यूटनको गुरुत्वाकर्षण र आइन्स्टाइनको सापेक्षतावादको आविष्कार । आधुनिक मोटर र हवाईजहाजले पनि त्यही पहिया र धुरकिलीको प्रयोग गरिरहेका छन् । कुनै मिलमा जानुस् गहुँ पिस्ने मेशिनमा पनि त्यही जाँता नै प्रयोग हुन्छ, जसमा पिसेको पीठो यति तातो हुन्छ कि लाग्छ कि अलि अरू तातो भइदिएको भए मिलबाट पीठो होइन रोटी नै बनेर निस्किन्छ । एउटा थप हानिकारक कुरा भन्ने पनि गरिएको छ ।
धानबाट चामल बनाउन त बोक्रा निकाल्नै पर्छ । तर आजकाल गहुँको पनि बोक्रा निकालिन्छ ताकि पीठोलाई चाल्नोले चाल्न नपरोस् । हद छ भाइ । एकातिर हामी मङ्गल ग्रहमा गइरहेका छौं भने अर्कोतिर यो कुन रसातलको यात्रा हो ? चिरान मेशिनमा त्यही आरा प्रयोग हुन्छ । ट्याक्टरमा त्यही फाली बढी नम्बरमा र उल्टो दिशामा मोडिएको हुन्छ, जसमा आर्यका आधारभूत खोजको नै प्रयोग हुन्छ । एउटा हुन्छ आधारभूत खोज र अर्को हुन्छ त्यही खोजमा सुधार गर्नु । पहिलो र आधारभूतलाई आविष्कार भनिन्छ र त्यसपछिका सबैलाई प्रविधिको विकास भनिन्छ । हवाईजहाजको आविष्कार राइट बन्धुले गरे । त्यसैमा सुधार गरेर आज नैरोबडी, वाइडबडी जेट आदिको विकास भएको छ । त्यो प्रविधिको मात्र विकास हो । राइट बन्धुबाहेक त्यसको उत्तराधिकार अरू कसैले प्राप्त गर्न सक्दैन । मोटरसाइकल, मोटर, कार, जीप, ट्याक्टर आदिमा मूल आविष्कार मोटर हो, बाँकी सबै प्रविधि हुन् । मतलब यो कि हाम्रा पुर्खाले जुन आधारभूत आविष्कार गरेका छन्, त्यो गजबका छन् । तिनीहरू नै विभिन्न प्रकारका वस्त्र र ग्रामीण तथा शहरी घर निर्माण कलामा पनि निपुण थिए ।
यसो त आधुनिक आवास वा घर सिभिल इन्जिनीयरिड्ढो र वस्त्र टेक्सटाइल इन्जिनीयरिड्ढो विषय हो । तर त्यसमा स्वास्थ्यसम्बन्धी मुद्दा मेरो सरोकार क्षेत्रको विषय हो । यसो त आज यस्तो फाइबरको वस्त्र बनिसकेको छ, जसलाई सफा गर्नुपर्दैन, आफैं सफा हुन्छ । यस्तो पनि वस्त्र बनिसकेको छ, जसमा हावा भरेर मानिस हनुमानजी सरह उडेर एक स्थानबाट अर्को स्थानमा जान सक्छ । तर त्यस्तो वस्त्रको स्वास्थ्यसम्बन्धी परीक्षण भइसकेको छैन । पिपिई कोरोनाकालमा लगाउने प्लास्टिकको वस्त्र पनि छ, जसले कोरोनाबाट त बचायो तर हरदम लगाउन सकिन्न । त्यसको फोहोरले झन् हजारौं वर्षसम्म वातारणलाई दूषित गर्ने काम त छँदैछ । तर मानिस भनेको जीव पनि गजबको अनुसन्धानकर्ता हो । आधारभूत प्रयोगशालामा यो दाबी गरिएको छ कि वैज्ञानिकहरूले एक यस्तो एन्जाइम बनाइसकेका छन्, जसले प्लास्टिकलाई पनि पचाइदिन्छ । यदि यस्तो हुन सक्यो भने त्यो त्यस्तै क्रान्तिकारी हुन्छ, जसरी पेट्रोलको ठाउँमा ब्याट्रीले चल्ने गाडी बनेको छ । जेहोस् मेरो सरोकारको कुरा यो हो कि स्वास्थ्यको दृष्टिकोणले हामीले गर्मीमा सुती, हैन्डलुम वा खादी तथा जाडोमा उनीको ढिलाढाला वस्त्र लगाउनु उत्तम हुन्छ, जसमा शरीरको अधिकतम भाग खुला होस् । यस दृष्टिले धोती, कुर्ता, पाइजामा, लुङ्गी आदि स्वस्थकर वस्त्र हुन् । पगडी र मुरैठा रेगिस्तानमा तेज धुपको बचावटको लागि बनाइएको छ । नेपालमा ढाका टोपी नै यसको लागि ठीक छ । मधेसी संस्कृतिको गम्छाको उपयोग पनि स्वयंसिद्ध छ । त्यस्तै, महिलाको चोलो र आधुनिक छोट्याइएका केटीहरूको वस्त्र स्वास्थ्यको लागि ठीक छ, यदि त्यो अप्ठ्यारो नहोस् । सांस्कृतिक दृष्टिकोणले त्यो अवश्य अशोभनीय लाग्छ तर स्वास्थ्यको दृष्टिले त्यो सही छ । भन्न परोइन कि घुम्टो र बुर्का स्वास्थ्यका लागि हानिकारक छन् । अन्डरवियर र गन्जी पसिना सोस्ने हुनुपर्छ ।
फूटवेयर पनि वस्त्रकै भागमा आउँछ । भनिन्छ कि महाभारतपछि जुत्ता लगाउने कुरा हराएर गयो र एकैचोटि सम्राट चन्द्रगुप्त मौर्यको समयमा उदायो । यसमा पनि एक रोचक कथा छ । भनिन्छ कि चाणक्यको कुटी केही पर वनमा थियो र उनीसँग भेट्न सर्वसाधारणलाई पनि मनाही थिएन । पर वनको बाटो काँडा र कुशलाई छिछोल्दै जानुपथ्र्यो । एक दिन एकजना मान्छेले चाणक्यसँग भन्यो– हजुर यस बाटोमा एउटा छाला बिछ्याइदिए पनि त हुन्थ्यो । जनतालाई आउन–जान कष्टकर भइरहेको छ । चाणक्यले भने– राजकोषको पैसा यसको लागि म बर्बाद गर्न सक्दिनँ । जनताले आफ्नो खुट्टाको नापको छाला लगाएर आए भइहाल्छ नि । छालाको मार्ग नै बनाउन के आवश्यकता ? बस आफ्नो खुट्टाको नापको छालाको प्रयोग हुन थाल्यो, जो विकसित हुँदै आजको स्थितिमा आइपुगेको छ । आज कोही पनि विनाजुत्ता दश कदम पनि हिंड्न चाँहदैन । यतिमात्र कहाँ हो र ? जुत्ताको साथ मोजा पनि चाहियो । तर मोजा केवल जाडोको लागि श्रेयष्कर छ । गर्मीमा मोजाको प्रयोग गर्नुहुँदैन । जुत्तालाई पनि घरभित्र लग्नुहुन्न, जो शायद आज सबै सजग मानिसले गर्छन् किनभने जुत्तासित टाँसिएर बाहिरका फोहोर मात्र होइन, त्यसैमा विभिन्न रोगाणु पनि घरमा जान्छ । फूटवेयर बाथरूमको लागि वाटरप्रुफ हुनुपर्छ, जो केवल बाथरूमको लागि नै सीमित हुनुपर्छ । घरमा लगाउने गर्र्मीमा खुला र जाडोमा बन्द फूटवेयर हुनुपर्छ । भान्साघरमा फूटवेयर लैजानु ठीक होइन । लैजानु नै परे बाथरूम सरह छुट्टै हुनुपर्छ । यसभन्दा बढी वस्त्रको बारेमा भन्न लायक केही छैन । बरु जाडोको शीतलहरमा गरीबगुरुवालाई कम्बल र सिरक सरकारले वितरण गर्नुपर्छ ।
अब अर्को कुरा आवासको हो । यसमा पनि म इन्जिनीयरिड्ढो दृष्टिकोणले होइन, स्वास्थ्यको दृष्टिकोणले वर्णन गर्न चाहन्छु । धेरै कम मानिसलाई थाहा होला कि कङ्क्रिटको जङ्गलमा हामीले कति रेडिएसन खाइरहेका छौं । सिमेन्टले बनेको घरबाट एक प्रकारको रेडिएसन निस्किन्छ, जो कम वा जे भएपनि स्वास्थ्यको लागि हानिकारक छ । त्यसमा पेन्टको त कुरै छाडौं । सीधैं लिड र केमिकलको धूलो सासमा गइरहेको हामीलाई पत्तो पनि लाग्दैन । अतः म कसरी माटो र गोबरले पोतिएको राम्रो सुगन्ध लिएको घरको माया मारूँ ? पहाडमा रातो माटोले पोतिएको चिटिक्क परेको घर हराएको मलाई मन पर्दैन । तापको बारेमा त सबैलाई थाहा छ । कङ्क्रिटको घरमा गर्मीमा विनापङ्खा बस्न सकिंदैन र जाडोमा थुरथुर काम्नुपर्छ कसरी ? अतः मलाई सोध्नुहुन्छ भने ग्रामीण भेगमा खपडाको घर र शहरमा मात्र पक्की घर बनाउनु उपयुक्त लाग्छ । तर के गर्ने जङ्गल हामीले खाइसकेका छौं । त्यसैको साथ गाँधी जस्तो साबरमतीको मनोरम आश्रममा बस्ने र जङ्गलमा वाल्मीकि जस्तो ऋषिकुल निर्माणको सौभाग्य सकिसकेको छ । गाउँमा गोबरले लिपिएको भान्साघरको ठाउँमा अब फिनाइलको संसारमा आउनु बाध्यता बनिसकेको छ । यसैलाई अब स्वस्थकर बनाएर जानु छ ।
घरका पनि प्रकार हुन्छन् । निजी भवन, विद्यालय भवन, पञ्चायत भवन, राष्ट्रियसभा भवन, अन्तर्राष्ट्रिय सम्मेलन भवन, कार्यालय, धर्मशाला, होटल, रैन बसेरा, मन्दिर, मस्जिद, गिरिजाघर, देवालय, अट्टालिका, सिनेमा हल, अपार्टमेन्ट, मल्टिप्लेक्स आदि । यहाँ मेरो सरोकार केवल निजी घर हो, जो समुदायको सबैभन्दा पहिलो र सानो एकाइ हो । विश्व स्वास्थ्य सङ्गठनले यसलाई दुई भागमा बाँडेको छ– ग्रामीण र शहरी । यसमा विशुद्ध इन्जिनीयरिङसँग मलाई केही मतलब छैन । तर स्वास्थ्यको दृष्टिकोणले एउटा पारिवारिक घर, त्यसका कोठा, भुइँ, उचाइ, लम्बाइ आदि उपयुक्त भएको कुरा मात्र उल्लेख गर्नु छ ।
निजी घर त्यो पवित्र मन्दिर हो, जसमा पति, पत्नी र उनका स्नेहपूर्ण अधिकारीहरूबाहेक कोही प्रवेश गर्न सक्दैनन् । हाम्रो संस्कृतिमा तीन पुस्ता सगोल बस्ने परिपाटी छ । त्यसैले हाम्रो घरको बनावट पश्चिमा मापदण्डसँग मेल खाने कुरै आउँदैन । अतः अवश्य त्यो विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्डभन्दा भिन्न हुन्छ । तर पनि उसले जुन मापदण्ड तय गरेको छ, त्यसलाई बताउनु र त्यसैलाई पत्याउनु पनि सबैले ठान्छन् नै । तर त्यो हाम्रो प्राचीन शिल्पकला र वास्तुविज्ञानसँग मेल खाँदैन । शौचालय जता राखे पनि हुन्छ । पूजाघरको चर्चा नै छैन । हामीले आफैं त्यसको मापदण्डमा जोडेर बनाउनुपर्छ ।
घर एउटा परिवारको मजबूत आश्रय र साथै सम्पत्ति पनि हो, जसले परिवारका सारा क्रियाकलाप निर्वाध सञ्चालन गर्ने यथाः सुत्न, खान, बैठक गर्न र साथै सामाजिक सेवा केन्द्रहरूको सहुलियतपूर्ण पहुँचको दूरीमा अवस्थित हुन्छ । घर बनाउँदा यो उँचो स्थानमा जहाँ बाढीको पानीको निकास होस्, भूजल १० फिटभन्दा मुनि होस् । यो एउटा सडकसँग जोडिएको र झिंगा तथा लामखुट्टेको प्रजनन केन्द्रबाट टाढा, सुखद वातावरणले घेरिएको हुनुपर्छ । घरमा प्रकाश र भेन्टिलेशनको लागि वरिपरि फराकिलो खाली ठाउँ हुनुपर्छ । गाउँमा कुल जग्गाको एक तिहाइमा र शहरमा दुई तिहाइ मानिएको छ । बाँँकी बचेको जग्गामा एउटा रूख र हरियाली हुनु जरुरी हुन्छ, स्वच्छ हावाको लागि । आजभोलि छतमा गमलामा भएपनि गोलभेंडा र तरकारी उब्जाउने चलन चलेको छ । यो उपयोगी र नयाँ विचार अवश्य पनि सराहनीय छ । आखिर खेत सबै प्लटिङ गरेपछि गर्नुपर्ने पनि त यही हो । वस्तुभाउको स्थान यस मापदण्डमा छैन । गोठ मचानहरू घरबाट टाढा हुनुपर्छ । घरको भुइँ छिद्र र नफाटेको तथा सफा गर्नको लागि सम्म परेको हुनुपर्छ । यो तीन फिट उचाइमा हुनुपर्छ । पर्खाल नौ इन्च मोटाइको ताप नसोस्ने खालको जलवायुरोधी हुनुपर्छ । छतको उचाइ १० फिटभन्दा कम हुनुहुँदैन । भुइँको क्षेत्र १२० वर्गफुट बेस, नभए ५० वर्गफिटभन्दा कम त कुनै हालतमा हुनुहुँदैन । प्रत्येक कोठामा दुईटा झ्याल जसमा एउटा बाहिरी खुला स्थानमा खोलिएको हुनुपर्छ र त्यसमा जोडिएको भेन्टिलेटर सधैं खुला राख्नुपर्छ । झ्याल जमीनबाट तीन फिटभन्दा माथि हुनुहुँदैन । यो भुइँको पाँचमा एक भाग र ढोकासँग मिलेर पाँचमा दुई भाग हुनुपर्छ । घरमा भुइँको एक प्रतिशत भागमा सूर्यको प्रकाश आउन सक्ने व्यवस्था गर्नु राम्रो मानिन्छ । प्रत्येक घरमा एक भान्साघर जसमा अनिवार्य सिंक, भाँडाकुँडा र बनाएका खाना तथा मसला, अचार आदि सुरक्षितरूपले राख्ने व्यवस्था हुनुपर्छ । सबैभन्दा बढी जरुरी त सजिलै पुग्न सक्ने शौचालय र स्नानघर अनिवार्य तथा नभई नहुने कुरा हो । शहरमा पाइप जडान गरी वाटर सप्लाईको व्यवस्था र गाउँमा एउटा चापाकलको व्यवस्था हुनुपर्छ । ठाउँठाउँमा फोहर जम्मा गर्नको लागि डस्टबिन पनि राखिदिनुपर्छ ।
आजभोलि महानगरहरूमा दश तले, बीस तले र पचास तले घरको पनि होडबाजी चलेको छ । बटुवाले हेर्ने आँखालाई मात्र यसले आश्चर्यमा पार्छ । बस्नको लागि त्यो कदापि लाभदायक होइन । आकाशमा तपाईं जति माथि जानुस्, त्यो केही न केही मात्रामा हानिकारक नै हुन्छ । पृथ्वीको जीवनीशक्ति तपाईं पृथ्वीको सम्पर्कमा नै पाउन सक्नुहुन्छ । सोच्नुस् त अन्तरिक्षमा मानिस जान्छ, त्यहाँ के हुन्छ ? गिलास तलबाट होइन माथिबाट उठाउनुपर्छ । त्यहाँ सबै कुरा उल्टापुल्टा हुन्छ । शरीरमा बगिरहेका तŒवको पनि उल्टापुल्टा हुन्छ होला नै । फलतः अन्तरिक्ष यात्रुहरूलाई महीनौं निगरानीमा राखिन्छ । पृथ्वी सतहबाट जति माथि जानुस्, त्यति बढी गुरुत्वाकर्षणसँग सङ्घर्ष गर्नुपर्छ । अतः पृथ्वी सतहको सम्पर्कमा रहनुस् । यही हाम्रो स्वास्थ्य र शरीरको प्रकृति हो । यहाँ एउटा प्रश्न उठ्न सक्छ कि पहाड त दश तले महलभन्दा पनि धेरै उँचो हुन्छ । तर पहाड धर्ती हो र प्रकृतिको मनोरम तŒव लिएर बसेको हुन्छ । तापनि सगरमाथाको उचाइमा तपाईं बस्न सक्नुहुन्न ।
यो विश्व स्वास्थ्य सङ्गठनले दिएको अमेरिकी मापदण्ड हो । संयुक्त राष्ट्रसङ्घको लक्ष्य सबैलाई घर दिनु हो । तर अहिलेसम्म यो सम्भव भइनसकेको र हुन नसक्ने कुरा जस्तो नै लाग्छ
मलाई ।