• उमाशङ्कर द्विवेदी

यस प्रकार स्वार्थको लागि मित्रहरूको संहार गराएर अब मैले हजारवटा अश्वमेध यज्ञ गरे पनि आफूलाई पवित्र पार्न सक्दिनँ । म आचारभ्रष्ट र पतीत हुँ, आफ्ना बन्धु–बान्धवहरूसित मैले द्रोह गरें । मेरो पितामह रगताम्ये भएर बाण शøयामा परेका छन, उनी युद्धमा मारिए तर मैले उनको रक्षा गर्न सकिनँ । काम्बोजराज, अलम्बुष तथा अन्यान्य सह्दहरूलाई मरेको हेरेर पनि अब म जीवित रहनुले के लाभ ? शस्त्रधारीहरूमा श्रेष्ठ आचार्य, म आफ्नो यज्ञ–यागादि तथा इनार–पोखरी बनाउन खनाउन आदि शुभ कर्महरूको, पराक्रमको तथा पुत्रहरूको शपथ लिएर तपाईंको सामु प्रतिज्ञा गरिरहेको छु कि अब म पाण्डवहरूको साथै सम्पूर्ण पाञ्चाल राजाहरूलाई मारेर नै शान्ति पाउनेछु, अथवा जुन वीरहरूले मेरोलागि युद्ध गर्दागर्दै अर्जुनको हातबाट मारिए, उनीहरूकै लोकमा गइहाल्नेछु । यतिबेला मेरा सहायकहरूले पनि मेरो मदत गर्न चाहिरहेका छैनन् ।

अरूहरूको त कुरै छाडौं तपाईं स्वयम्ले पनि हाम्रो उपेक्षा गरिरहनुभएको छ । अर्जुन तपाईंको प्यारो शिष्य हो, त्यसैले पनि यस्तो भएको हुन सक्छ । यतिबेला त मैले कर्णलाई मात्र हेरिरहेको छु, जो साँचो ह्दयले मेरो विजय चाहन्छन् । जुन मूर्ख मित्रलाई राम्ररी नचिनेर नै उसलाई मित्रको काममा लगाइदिन्छ, उसको त्यो काम निश्चय नै बिग्रन्छ । जयद्रथ, भूरिश्रवा, अमीषाह, शिबि र वसाति आदि नरेशहरू मेरानिम्ति युद्धमा मारिए । उनीहरूबेगर अब मलाई यस जीवनबाट कुनै लाभ छैन, अतः म पनि त्यहीं गइरहेको छु, जहाँ ती पुरुषश्रेष्ठहरू गमन गरेका छन् । तपाईं त केवल पाण्डवहरू मात्रको आचार्य हुनुहुन्छ, अब हामीलाई जान आज्ञा दिनुहोस् ।

राजन्, तपाईंका पुत्रले भनेको कुरा सुनेर आचार्य द्रोण मनैमनमा अत्यन्त दुःखित भए । उनी केही बेरसम्म चुप लागेर केही सोचिरहे, अनि अत्यन्त व्यथित भएर भने– दुर्योधन, तिमीले किन आफ्ना यस्तो वाग्बाणबाट मलाई छेडिरहेका छौ ? म त सधैं तिमीसित भन्दै आएको छु कि अर्जुनलाई युद्धभूमिमा परास्त गर्न असम्भव छ । जुन भीष्म पितामहलाई हामीहरूले त्रिभुवनकै श्रेष्ठ वीर ठानिरहेका थियौं, उनी पनि मारिएपछि अरूसित के नै आशा गर्ने ? तिमीले जुआ आरम्भ गर्ने बेला विदुरले भनेका थिए– बाबु दुर्योधन, यस कौरवसभामा शकुनिले यी जुन पासा चलिरहेका छन्, त्यो एक दिन तीखो बाणमा परिणत भइहाल्नेछ । तिनै पासाहरू अर्जुनको हातमा परी अब बाण बनेर हामीहरूलाई मारिरहेका छन् । त्यस दिन विदुरको कुरा तिम्रो बुद्धिमा छिरेन । विदुरजी धीर हुन्, महात्मा पुरुष हुन् । उनले तिम्रो कल्याणको लागि राम्रो कुरा गरेका थिए, तर विजयको उल्लासमा तिमीले त्यो कुरा सुनेनौ । आज जुन यो भयङ्कर संहार मच्चिएको छ, त्यो उनको वचनको अनादरकै परिणाम हो । जुन मूर्ख आफ्ना हितैषीहरूको कुराको अवहेलना गरेर आफूखुशी गर्दछ, त्यसको अलिकबेरमैं सोचनीय अवस्था भइहाल्छ । यतिमात्र होइन, तिमीले एउटा अर्को पनि बडो भारी अन्याय गरेका छौ, हाम्रोसामुमैं लछारपछार गर्दै द्रौपदीलाई सभामा बोलाएर अपमानित ग¥यौ । उनी उच्च कुलमा उत्पन्न भएकी हुन, सबै प्रकारका धर्मको पालना गर्दछिन्, उनी यस अपमानको योग्य थिइनन् । गान्धारीनन्दन, त्यस पापको नै यो महान् फल प्राप्त भइरहेको छ ।

यदि यहाँ यो फल नमिलेको भए परलोकमा तिमीलाई यसभन्दा पनि अधिक दण्ड भोग्नुपर्दथ्यो । पाण्डवहरू मेरा पुत्रका समान हुन् । उनीहरू सदैव धर्मको आचरण गरिरहेका हुन्छन् । मबाहेक अन्यको यस्तो मानिस छ, जो ब्राह्मण भएर पनि उनीहरूसित विद्रोह गरोस् ? दुर्योधन, तिमी त मरेका थिएनौ, कर्ण, कृपाचार्य, शल्य र अश्वत्थामा–यी सबै त जीवित थिए, अनि किन सिन्धुराजको मृत्यु भयो ? तिमी सबैजना मिले पनि किन उनको रक्षा गर्न सकेनौ ? राजा जयद्रथले विशेष गरेर तिमी र ममाथि नै आफ्नो जीवन रक्षाको भर गरेका थिए, र पनि अर्जुनको हातबाट उसको रक्षा गर्न सकिएन अनि अब मलाई पनि आफ्नो जीवनरक्षाको कुनै अवस्था देखा परिरहेको छैन । बडाबडा महारथीहरूका बीच सिन्धुराज जयद्रथ र भूरिश्रवा मारिए, त्यहाँ तिमीले अब ककसको बाँच्ने आस गरिरहेका छौ ? जसलाई इन्द्रसहित सम्पूर्ण देउताले पनि मार्न सक्दैन्थ्ये, ती भीष्मजीलाई जबदेखि मृत्युको मुखमा परिरहेको हेरेर मलाई लाग्दछ, अब कुनै पनि अवस्थामा यो पृथ्वी तिम्रो हुन सक्दैन । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here