- सञ्जय मित्र
पहिलो गाँसमै ढुङ्गो भएको टुङ्गो नलगाउनुहोला । तपाईंले गरेको प्रगतिमा बधाई दिन चाहन्छु, हुनुपर्नेमा बजाइ दिन चाहन्छु, हुन गएकोमा मैले क्षमायाचना गरेको छु भन्नुहोला, तर होइन है । बधाई दिनुपर्नेमा बजाइदिनुपर्ने भएको होइन । दिन चाहिं बधाई दिन्छु, तपाईंलाई हार्दिक बधाई । तर बजाइदिन चाहन्छु गाला, चड्कन चिउरा दिएर । दिन सक्दिनँ र पो । चड्कन दिनुभन्दा पहिले आफ्नो धडकन शुुरू हुन्छ ।
हुनत मजस्तो नामर्द तपाईंहरू नहुनु होला, आँखै अगाडि नाक काटिनेगरी गल्ती गर्दा पनि सहेर बस्ने । हुनत गौतम बुद्ध र महात्मा गाँधी सहेरै संसार जित्न सकिन्छ भन्ने संस्कार बसाल्ने पुरुषहरू हुन् तर आफू त पुरुष नभई नामर्द भएको स्वीकार गरिसकेको छु । मेरो सहनशक्तिलाई परिभाषित गर्दै पल्लो गाउँका पाँच पत्नीका पोई परिचित पण्डितले उपाधि दिएका छन् –
महापुरुष । एउटी फ्याङ्लीले नपत्याउनेलाई पाँच पत्नीका पोई पुरुषले मलाई महापुरूष भन्दा जस्तो अपमान कुनै बुझेको छैन ।
बडो दुःख गरेर आफैं अज्र्याको एउटा संस्थामा अध्यक्ष बनेको थिएँ तर सबैले मलाई अदक्ष देख्दा रहेछन् । अध्यक्ष नै अदक्ष परेपछि संस्था कसरी चलोस् । तैपनि संस्थाले एउटा कार्यक्रमको आयोजन गरेको छ ।
संस्थाको सचिवले मलाई हेप्छन् कि जिस्क्याउँछन्, उनै जानून् । जिस्किने नातामा परेपछि मुखबाट निस्किने नि निस्कन्छ र ननिस्किने पनि निक्लन्छ । समाजसेवी पत्नीका परम पूजारी सचिवले कार्यक्रम अगाडि बढाउँदै बोल्छन् – कार्यक्रमको सभापतित्व ग्रहण गर्न म फलानोलाई आग्रह गर्न चाहन्छु । ताली बज्यो तर म जहाँको तहीं छु ।
फलानो सर, अध्यक्षज्यू, जानोस् न । नाम बोलाइहाल्यो त ।
एक छिन पहिलेसम्म बजिरहेको ताली रोकिएर अब गालीमा परिणत हुन पुग्यो । कस्तो स्वाँठ रैछन्, कुरै नबुझ्ने, कस्तो पागल अध्यक्ष छ । यस्तो खुस्केटले कसरी संस्था चलाउँदो हो ? आदि अनेकानेक दुर्वचनहरू एकै छिनमा कानमा पसे ।
होहल्ला हो कि गाईंगुईं चल्दैछ । यसै बीच फेरि सचिव भन्छन्– संस्थाको अध्यक्षलाई कार्यक्रमको सभापति बनिदिन आग्रह गर्न चाहन्छु ।
म फेरि पनि उठ्दिनँ । यसपटक मेरोभन्दा सचिवको अलिक बढी बेइज्जत शुरू हुन्छ । कस्तो सञ्चालक रहेछ अलिकति संयोजन नै नगरी कार्यक्रम शुरू गर्छ । जसलाई मन नै छैन, उसलाई सभापति ? पहिले सोध्नुपर्दैन ?
अनि सचिव लाज मान्दै म छेउ आउँछन् । मेरो त बेइज्जत नै गराइदिनु भयो, हिंड्नुस् माथि ड्यासमा बस्न ।
अघि मेरो बेइज्जत भएको थियो । अहिले तपाईंको । एकचोटि फेरि भन्नुस् न त्यसै आसन ग्रहणको लागि अनि हेरूँ कसको बेइज्जत हुँदोरहेछ ?
अलिक रिस बढी मिसिएको स्वरमा सचिव आग्रह गर्छन् – किन सबैको बेइज्जत गराउन चाहनुहुन्छ ?
म झन् आगो ओकल्छु – मैले कसैको बेइज्जत सेइज्जत गराउन चाहेको होइन । संस्थाको सचिव भएर बोल्न नजानेपछि मेरो, संस्थाको र उपस्थित सबैको बेइज्जत भएको हो ।
दुई चारजनाले मेरो कुरो सुनिहाले । जसले आफ्नो बेइज्जती महसूस गर्न पाएका थिएनन्, अब मेरो बोलीले त्यस्तै अनुभव गरे । तिनीमध्ये एकजनाले आग्रह गर्छन् – “तप्पैंले बोला’र आको हो याँ, तप्पैंले भनेको चैं के हो ? गर्न चाहेको चैं के हो ? माइक समातेर बोल्दिनुस् । अैले एत्ति होस्, बाँकी तमाशा पछि गर्नुहोला ।”
मेरो घोर विरोधी मानिने संस्थाकै एकजनाले विनम्रतापूर्वक आग्रह गर्छन् – पैले अध्येछता नगर्नुको कारण बतौनुस् ।
म बाध्य भएर मञ्चमा चढ्छु । र आफ्नो कुरो यसरी राख्छु–“उहाँकी पत्नीले म चाहिं फलानोकी पत्नी बन्न चाहन्छु वा मैले उहाँकी पत्नीको पति बन्न चाहन्छु भन्नेजस्तो हो र ? म फलानो देशको राष्ट्रपति वा फलानो देशको प्रधानमन्त्री बन्न चाहन्छु । यसरी कसैले के बन्न चाहन्छु भन्दैमा बन्न पाउँछ र ?”
बोल्दै थिएँ बीचमैं कसैले पछाडिबाट बोल्दिए – “ए पागल, के बकेको ? तेरो पागल प्रलाप सुन्न ह्याँ आ’को होइन । खुरूक्क भत्ता द्याओ, अब भाग्छौं । हैन भने हामी पनि पागल हुन्छौं ।”
मेरी पत्नीतिर आँखा लगाउँदै सचिवले पनि आग्रह गर्छन् –“मेरो के गल्ती छ र यत्ति नौटङ्की भइरहेको छ ।”
उसकी पत्नी निकै ठाँटिएर आएकी थिइन् । जसरी मेरी पत्नीतिर आँखा लगाउँदै सचिवले प्रश्न गरेका थिए, त्यसरी मैले पनि उनकी दुलहीतिर दुुनियाँले देख्ने र बुझ्नेगरी आँखा गाडेर बोलें– “तपाईंले चाहेर यो कार्यक्रम चल्ने र नचाहेर नचल्ने भएको हो ?”
“कसरी ?”
“ल एकचोटि फेरि कार्यक्रम सञ्चालन गर्नुस् म मञ्चमैं छु ।”
अनि अलिकति डराएको, अलिकति हड्बडाएको र थोरै विश्वस्त भएको अनुहार र बोलीमा सचिव माइक समात्छन् र फेरि बोल्छन्–“आज दिनभरिको लागि तपाईंहरूलाई यहाँ निम्त्याइएको हो । जसरी हुन्छ दिनभर बस्नैपर्छ । कार्यक्रम जस्तो होस्, भत्ता सबैले समयमैं पाउनुहुन्छ । अब म फेरि हाम्रो संस्थाका अध्यक्षज्यूलाई कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनुहुन आग्रह गर्न चाहन्छु ।”
बढी हाँसो र थोरै ताली बज्छ । “म पनि आसन ग्रहण गर्न चाहन्छु भनें भने के हुन्छ ?”
जुहारी शुरू हुन्छ । सबै दर्शक छन् ।
मतलब ?
कति मतलबको कुरा गर्नुहुन्छ । मतलबी मान्छेले खाली मतलबको कुरो मात्र गर्छन् हैन ?
हे भगवान्, सोझो कुरो गर्नुस् न । सबै मानिसले यो नौटङ्की देखिरहेका छन् ।
नौटङ्की तपाईंले गरेको हो कि मैले ?
हो मेरो गल्ती भयो । अब कार्यक्रम अगाडि बढाउनुस् ।
सचिवले सबैका अगाडि गल्ती स्वीकार गरेपछि मैले उनको गल्ती देखाएँ –“एकचोटि फेरि कार्यक्रम शुरू गर्नुस् । अब कार्यक्रम शुरू हुन्छ ।”
सचिवको अनुहार कालोनीलो भइसकेको छ । सबैले मलाई नै दोषी ठानिरहेका छन् । तर पनि म अध्यक्ष नै हुँ नि । मैले नचाहेसम्म कार्यक्रम शुरू हुन्छ ? मेरो मनमा यही कुरो आएको छ । सचिवले गलेको अनुहार र दबेको बोलीमा फेरि बोलेको सुनिन्छ –“कार्यक्रम सुचारु गर्न म आयोजक संस्थाका अध्यक्षज्यूलाई सभापतिको आसनमा बिराजमान भइदिनहुन आग्रह गर्न चाहन्छु ।”
सचिवको हातबाट माइक खोस्छु र बोल्न शुरू गर्छु – “आफूलाई खूब विद्वान् ठान्ने सचिवज्यूको बोली अझै पनि सुन्नुस् । उहाँ के बोल्नुहुन्छ र के गर्नुहुन्छ । जहाँ पनि यस्तै हो उहाँको निकम्मापन । हाम्रो संस्थालाई धसाउने, रसातल पु¥याउने उहाँ नै हो ।”
प्रमुख अतिथिको लागि निम्त्याएकी उनकी पत्नीले आफ्नो पतिको ठूलो बेइज्जत सहन गाह्रो भएछ क्यारे । मञ्चमा आएर भन्छिन् – “माफी दिनुस्, उहाँको गल्ती तपाईंको नजरमा जे छ, त्यो स्पष्ट बताउनुस् । मेरो बिन्ती छ ।”
मधुर बोलीले मेरो मन फेरिन्छ । म अब सोझो कुरो राख्छु–“मैम नरिसाउनुहोला तर जिस्केको होइन । यदि मैले भनें कि म तपाईंलाई आफ्नी पत्नी बनाउन चाहन्छु भन्दैमा तपाईं मेरी पत्नी भइहाल्ने हो ?”
रिस मिसिएको मुस्कान र ध्वनिसित बोल्छिन् –“होइन ।”
“अनि तपाईंका पतिले यति मात्र बक्दै हुनुहुन्छ कि म अध्यक्षज्यूलाई सभापति बनाउन चाहन्छु । उनले सभापति बनाउन चाहन्छु । बनाउन चाहन्छु । वा आग्रह गर्न चाहन्छु । उहाँले जे जे चाहनुहुन्छ त्यो त्यो पूरा हुने नहुने तपाईंलाई नै थाहा होला । तर सचिवजस्तो मान्छे अलिक बुद्धि पु¥याएर त बोल्न जान्नुपर्छ कि होइन ।”
बल्ल मानिसले अलिकति कुरो बुझ्छन् । अहिलेसम्म त कार्यक्रम सञ्चालकले कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनका लागि आग्रह गर्न चाहेका रहेछन्, आग्रह गरेकै रहेनछन् ।
बधाई दिन चाहन्छु भन्नेलाई त्यही भएर मलाई बजाइदिन मन लाग्छ ।
कतै तपाईं पनि कतै बोलाउन चाहन्छु भन्ने बित्तिकै पुगिरहनु भएको त छैन ? बोलाउन चाहने तर नबोलाउने धेरै छन् नि, कहाँ–कहाँ पुग्ने ? कोसित रिसाउने ?
कार्यक्रम सञ्चालकहरूले पनि कसलाई स्वागत गर्न चाहेको हो, त्यो कुरो छोडेर स्वागत गर्छु भन्ने हो कि ?