प्रस, वीरगंज, १४ जेठ/
वीरगंज महानगरपालिका–३१ बेल्वाको नैकाटोलास्थित विद्यालयमा लायन्स क्लबले आयोजना गरेको निश्शुल्क स्वास्थ्य शिविरमा ३२५ जनाले सेवा लिएका छन् ।
लायन्स क्लब अफ वीरगंज मिलिनियमका अध्यक्ष सुमन श्रेष्ठले चारवटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न निश्शुल्क स्वास्थ्य शिविरमा ३२५ जनाको स्वास्थ्य परीक्षण गरी निश्शुल्क औषधी वितरण गरेको बताए ।
डा. उदयनारायण सिंह, डा. आरके सिंह, डा. दिप्ती यादव, डा. जिनतु नेशा, डा. नूरहुसेन देवानको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
महिला, बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
लायन्स क्लब संस्कृति गोल्ड, वीरगंज सेन्ट्रो र वीरगंज हेल्थीसमेतको सहभागितामा आयोजित शिविरमा लायन्सका रमेश अग्रवाल, देवकीनन्दन अग्रवाल, वडाध्यक्ष जितेन्द्र यादव, स्थानीय समाजसेवी सुलेमान अन्सारीलगायतको सहभागिता थियो ।
शिविरमा आर्य, म्याग्नस, टाइम, मारुती र युनिक फर्माले औषधी सहयोग गरेका थिए ।