प्रस, गरुडा, १४ जेठ/

जिल्लाको सबैभन्दा पुरानो तथा देशको चौथो जेठो विद्यालयको रूपमा रहेको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा एउटा विद्यालय भवनको शिलान्यास नवनिर्वाचित नगर प्रमुख शम्भु साहले गरेका छन् ।

विद्यालयमा भवन अभाव भएको र पुराना भवनहरू जीर्ण भइसकेको अवस्थामा आवश्यकतानुसार नयाँ सुविधा सम्पन्न भवनको शिलान्यास नगर प्रमुख साहले एक समारोहबीच शुक्रवार गरेका छन् ।

जुद्ध माविमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख शम्भु साहले पहिलो औपचारिक भौतिक पूर्वाधारको रूपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् । नगर प्रमुख साह पनि सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

एक कार्यकाल विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका नगर प्रमुखको समयमा विद्यालयमा अपत्यारिलो सुधार भएको थियो । पछिल्लो समय विद्यालयमा निरन्तर हुल हुज्जत हुने, शिक्षकमाथि आक्रमण हुने, विद्यालयमा तोडफोड हुनेजस्ता अवाञ्छित क्रियाकलाप बढेको थियो ।

जिल्लाको शैक्षिक गौरवको स्थानीयले सुधारको अपेक्षा गरेका स्थानीयवासीले नवनिर्वाचित नगर प्रमुख साहले पहिलो कामको रूपमा विद्यालयमा भवन निर्माणको शुभारम्भ गर्नुलाई शैक्षिक सुधारको सङ्केतको रूपमा लिएका छन् ।

आठ करोडको लागतमा पाँच वर्षमा निर्माण हुने बताइएको विद्यालय भवनको लागि चालू आर्थिक वर्षमा तत्काल करीब एक करोड रुपियाँको काम हुने बताइएको छ ।

विद्यालय भवनको शिलान्यास गर्नुपूर्व नगर प्रमुखले विद्यालय पुगेर बालबालिकासित पढाइको विषयमा अन्तक्र्रिया गरेका थिए । बालबालिकासित अन्तक्र्रिया गरेपछि नगर प्रमुख साहले तत्काल शैक्षिक अवस्थामा सुधार गर्न प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिएका छन् ।

साना कक्षाका बालबालिकाले दिवा खाजाको माग गरेपछि नगर प्रमुख साहले बालबालिकाका लागि तत्काल खाजाको व्यवस्था गर्न र कुनै किसिमको लापरवाही नगर्न पनि निर्देशनसाथ चेतावनी दिएका छन् ।

नगर प्रमुख साहसँगै उपप्रमुख शैलकुमारी देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुर लगायत विभिन्न वडाध्यक्ष तथा अन्य अभिभावक र समाजसेवीको सहभागिता थियो ।

नगर प्रमुख निर्वाचित भएपछि साह शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरी सुधारको लागि निर्देशन दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here