प्रस, वीरगंज, १३ जेठ/
विद्यार्थी जागरण मञ्च वीरगंजले आज एचआइभी एड्स योजनाबारे सरोकारवालासँग छलफल गरेको छ ।
छलफलमा विजामका नीरज साहले साउनदेखि वैशाखसम्म पर्सा जिल्लामा डेढ सय सङ्क्रमित बढेको बताए । उनले एचआइभी एड्सको क्षेत्रमा विद्यार्थी जागरण मञ्च, सहयात्री समाज र नारायणी अस्पतालसमेतको गणना हेर्दा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिएको बताएका
थिए । उनले विजाम मात्रको तथ्याङ्क अनुसार सो अवधिमा ३५ जना सङ्क्रमित देखिएको
बताए ।
पर्सा जिल्ला र बाहिरका समेत गरेर अहिले १ हजार ३१८ जना सङ्क्रमितको पहिचान भएको र उनीहरूलाई सोही अनुरूप उपलब्ध सेवा प्रदान गरिएको जानकारी गराएका थिए । पर्सामा मात्र ५८८ जना सङ्क्रमित रहेको साहले बताए । उनले एचआइभी सङ्क्रमित तथा लागू औषध प्रयोगकर्ताको लागि पूर्णरूपमा सरकारी सेवा उपलब्ध हुन नसकेको, उनीहरूको उपचार खर्च महँगो भएको र संस्थाको बजेटले धान्न नसकेको र बजेट अभावले उपचार नहुँदा मृत्यु भइरहेको बताए ।
लागू औषध प्रयोगकर्ताहरूलाई आयआर्जन र सीपमूलक तालीमहरू सञ्चालन गर्न नसक्दा पनि आर्थिक समस्या झेल्नुपरेको उनको भनाइ थियो । पालिकाहरूले यसबारे चिन्तनमनन गरेर बजेट विनियोजन गरेको खण्डमा सहज हुने उनले बताए । महिला यौनकर्मीहरूमा यौन रोगको समस्या बढी भइरहेको तर उनीहरू उपचारमा आउन नमान्दा समस्या झेल्नुपरेको उनले बताए ।
कार्यक्रम स्वास्थ्य कार्यालयका विनोद झाको अध्यक्षतामा भएको थियो भने नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपाल, राइजिङ नेपालका ज्वाला, नारायणी अस्पतालकी सरिता श्रेष्ठ, बारा प्लसका नवराज चौधरी, अवधेशप्रसाद साह, राजकुमार तामाङलगायतको सहभागिता थियो ।