प्रस, वीरगंज, १२ जेठ/
मधेस प्रदेशको एकमात्र महानगर वीरगंज महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको बिहीवार शपथग्रहण भएको छ ।
आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित शपथग्रहण समारोहमा पर्सा जिल्लाका मुख्य न्यायाधीश तथा वीरगंज महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले नवनिर्वाचित प्रमुख राजेशमान सिंहलाई शपथग्रहण गराएका थिए ।
जसपाबाट निर्वाचित नगरप्रमुख सिंहलाई मुख्य निर्वाचन अधिकृत पौडेलले शपथग्रहण गराएपछि नगरप्रमुख सिंहले उपप्रमुखमा निर्वाचित नेपाली काङ्ग्रेसका इम्तियाज आलम ठकुराईसमेत ३२ वटा वडाका अध्यक्ष तथा १२८ जना वडा सदस्यहरूलाई शपथ गराएका थिए ।
वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षता तथा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शपथग्रहण कार्यक्रम भएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दी, सांसद प्रदीप यादव, मधेस प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, नेका, पर्साका सभापति जनार्दन सिंह क्षत्री, केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वसभापति अजय दिवेद्वी, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकीकृत समाजवादी, पर्साका अध्यक्ष बालगोपाल थापा, माओवादी केन्द्र, पर्साका अध्यक्ष रामदरश कुशवाहा, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्तालगायतको सहभागिता थियो ।
पदभार सम्हालेसँगै गरे दुई निर्णय
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पदभार सम्हालेका छन् । वीरगंज महानगरको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिंदै उनले दुईवटा निर्णयसमेत गरेका छन् । उनले पहिलो निर्णयमा वीरगंजको मुख्य सडकको मरम्मत सम्भारको लागि आजै रातिबाट काम शुरू गर्ने र दोस्रो, वीरगंज महानगरका ३२ वटा वडाका १० हजार९२४ दलित विपन्न घरधुरीको मासिक ३० युनिटसम्मको विद्युत् महसूल निश्शुल्क गर्न आगामी नगरपरिषद् बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेका छन् । नगरप्रमुखमा उम्मेदवारी दिएसँगै उनले नगरप्रमुख भएमा वीरगंजमा जनताले परिवर्तनको अनुभूति गर्ने भनेका थिए ।
नगरप्रमुख सिंह र उपप्रमुख इम्तियाज आलम ठकुराईलाई विधिवत् पूजापाठ गरी कार्यालयमा प्रवेश गराइएको थियो । महानगरपालिकामा प्रवेश गर्ने क्रममा कर्मचारीहरूले नगरप्रमुख सिंह र उपप्रमुख ठकुराईलाई स्वागत गरेका थिए ।