प्रस, वीरगंज, ७ जेठ/
मधेस प्रदेशको पर्सा जिल्लासँग टाँसिएको बारा जिल्लामा मतगणना अहिले पनि जारी रहेको छ । दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा १३ वटा पालिकाको मतगणना सकिएको छ भने तीनवटा पालिकाको मतगणना जारी रहेको छ ।
बारामा मतगणना सकिन अहिले दुई दिन लाग्ने बताइएको छ । बाराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाराको दुईवटा उपमहानगरपालिका जीतपुरसिमरा र कलैया, पाँचवटा नगरपालिकामध्ये निजगढ, सिम्रौनगढ, महागढीमाई र कोल्हवी गरी चारवटा नगरपालिकाको मतगणना सकिएको छ भने पचरौता नपाको मतगणना भइरहेको छ ।
त्यसैगरी, नौवटा गाउँपालिकामध्ये सातवटा गाउँपालिकाको नतीजा आइसकेको छ भने दुईवटा गाउँपालिकाको नतीजा आउन बाँकी छ ।
बाराको पछिल्लो नतीजा अनुसार चारवटा पालिकाका प्रमुख र पाँचवटा पालिकाको उपप्रमुखमा एमालेले जितेको छ भने काङ्ग्रेस तीन, लोसपा र जसपा २/२ वटा पालिकामा प्रमुख र उपप्रमुखमा जितेका छन् भने विवेकशील साझा पार्टीले एउटा पालिकामा अध्यक्ष र उपाध्यक्षमा जितेको छ । त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रले प्रमुखमा जितेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा माओवादीका राजन पौडेल, उपप्रमुखमा एमाललेका भोलाप्रसाद अधिकारी, कलैया उपमहानगरपालिकाको प्रमुखमा एमालेका विनोदप्रसाद साह, उपप्रमुखमा एमालेकी रौशन प्रवीण, निजगढ नपाको प्रमुखमा एमालेका सुरथ पुरी, उपप्रमुखमा एमालेकी सोममाया थिङ, कोल्हवी नपाको प्रमुखमा काङ्ग्रेसका रामप्रसाद चौधरी, उपप्रमुखमा काङ्ग्रेसकी लक्ष्मीकुमारी चौधरी विजयी भएका छन् ।
त्यसैगरी, सिम्रौनगढ नपाको प्रमुखमा लोसपाका किशोरीप्रसाद कलवार र उपप्रमुखमा सोही दलबाट नजमु शेहर, महागढीमाई नपाको प्रमुखमा काङ्ग्रेसका उपेन्द्रप्रसाद यादव र उपप्रमुखमा काङ्ग्रेसकै तारादेवी कानू विजयी भएका छन् ।
त्यसैगरी, परवानीपुर गापाको अध्यक्षमा एमालेका रामक्षत्रीप्रसाद कुर्मी, उपाध्यक्षमा एमालेकी सुगान्धीदेवी कनुइन, प्रसौनी गापाको अध्यक्षमा एमालेका विनोदप्रसाद जैसवाल, उपाध्यक्षमा सोही दलकी किरणदेवी, फेटामा गापाको अध्यक्षमा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी, उपाध्यक्षमा सोही दलकी नीलम साह, विश्रामपुर गापाको अध्यक्षमा लोसपाका जुल्फकार अलि भुट्टो, उपाध्यक्षमा लोसपाकै प्रियङ्का देवी, करैयामाई गापाको अध्यक्षमा
जसपाका शम्भुप्रसाद यादव, उपाध्यक्षमा जसपाकै सुनैना चौधरी, देवताल गापाको अध्यक्षमा जसपाका उदयप्रसाद यादव, उपाध्यक्षमा जसपाकै सीतादेवी यादव, स्वर्ण गापाको अध्यक्षमा काङ्ग्रेसका राजेशप्रसाद यादव, उपाध्यक्षमा काङ्ग्रेसकै पूनमकुमारी विजयी भएका छन् ।