प्रस, वीरगंज, ३० वैशाख/
पर्सा जिल्लामा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
शुक्रवार बिहान ७ देखि साँझ ५ बजेसम्मको मतदान समयमा १४ वटै पालिकामा उत्साहजनक सहभागितामा मतदान सम्पन्न भएको छ । छिटपुटरूपमा छिपहरमाई गाउँपालिकामा सत्ता गठबन्धन र एमालेबीच झडप भएको र प्रहरीले चार राउन्ड हवाई फायर गर्नुपरेको थियो । झडपको क्रममा दुईजना घाइते भएको बताइएको छ । पोखरिया नगरपालिका वडा नं २, ४ र ९ मा मतदान केन्द्रमा उम्मेदवारहरूले मतदाता आकर्षित पार्ने कार्य गरेको भन्दै सामान्य विवाद भएको थियो ।
यसैबीच, आज सम्पन्न मतदानमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दी र एमालेबाट नगरप्रमुखका उम्मेदवार विजयकुमार सरावगीले वडा नं १३ को खाद्य संस्थानमा रहेको मतदान केन्द्रमा मत खसाले । सत्ता गठबन्धनको जसपाबाट नगरप्रमुखका उम्मेदवार राजेशमान सिंहले वडा नं ३ मालपोत कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे । राप्रपाबाट नगरप्रमुखका उम्मेदवार गिरीश गिरीले वडा नं ९ स्थित नेपाल रेलवे माविको मतदान केन्द्रमा मतदान गरे ।
महानगरमा नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि अन्य २७ जनाले न प्रचारप्रसार गरे, न उनीहरूको कसैलाई नाम, ठेगाना नै थाहा छ ।
यसैगरी, लोसपाबाट उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले वडा नं १५ मा, सत्ता गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार इम्तियाज आलमले वडा नं २ मा र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले वडा नं ३ मा मतदान गरे ।
पर्सामा ७२ प्रतिशत मतदान, महानगरमा ७७ प्रतिशत मतदान
पर्साका १४ वटा पालिकामा करीब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ । एक महानगर, तीन नगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लामा ७२ प्रतिशतभन्दा बढी मतदान भएको बताइएको छ । अन्य पालिकामा पनि कुनैमा ७० भन्दा कम र कुनैमा ७० भन्दा बढी मतदान भएको मतदान अधिकृतहरूले बताएका छन् । पर्सामा समग्रमा मत खसेको प्रतिशत करीब ७२ भन्दा बढी आउने अनुमान गरिएको छ ।
पर्साको पोखरिया नपाका मुख्य मतदान अधिकृत पदमबहादुर कार्कीले कुल १९ हजार ६७० मतदाता रहेकामा १६ हजार ६४५ मत खसेको बताए । त्यसैगरी, बहुदरमाई नपाका मुख्य मतदान अधिकृत कैलाशप्रसाद भट्टराईले करीब ७२ प्रतिशत मतदान भइसकेको र अहिले पनि केही स्थानमा मतदान जारी रहेको बताए । राति ७ बजेपछि नै मतदान सकिने उनले बताए । कालिकामाई नगरपालिकामा १२ हजार ९६५ मतदाता रहेकामा १० हजार ९५५ जनाले मतदान गरेका छन् ।
पर्सा जिल्लाका १४ वटा स्थानीय तहमा तीन लाख ३९ हजार ८३६ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार १४ स्थानीय तहमा कुल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन् । १६७ मतदानस्थलमा ४०४ मतदान केन्द्रमा शुक्रवार निर्वाचन भएको हो ।
महानगरको मतगणना शनिवार बिहानदेखि
मधेस प्रदेशको एकमात्र महानगर वीरगंजको मतगणना शनिवार बिहानदेखि शुरू हुने भएको छ ।
मतगणनाको लागि प्राविधिक व्यवस्थापन मिलाउन समय लाग्ने भएकोले अबेर रातिबाट मतगणना गर्ने सम्भावना न्यून रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए । उनले मतगणनाको लागि वीरगंज महानगर–१४ स्थित नृसिंह माविमा सबै तयारी पूरा गरिसकेको बताए । प्रमुख पौडेलले वीरगंजका केही स्थानमा राति ७ बजेसम्म मतदान भएको र त्यहाँबाट ८ बजे राति मात्र मतपेटिका आउने हुँदा अन्य तयारी गर्न र कर्मचारीले खाना तथा आरामका लागि पनि आज रातिबाट गणना हुने सम्भव नभएको बताए । उनले शनिवार बिहानदेखि मतगणना शुरू गर्ने छलफल भइरहेको बताए ।
उनले वीरगंजमा कुल एक लाख २४ हजार ६०० मतदाता रहेकामा करीब ७७ प्रतिशतले ९५ हजार ३२५ मत खसेको बताए । मतपेटिका भण्डारणको लागि चारवटा कोठा र मतगणनाको लागि चारवटा कोठाको व्यवस्थापन गरिएको उनले बताए । उनले मतपेटिका भण्डारण र गणना हुने स्थानमा सिसिटिभी राखिएको र मतगणना गर्ने कक्षमा सात फिट अग्लो तारजाली लगाइएको बताए । शुरूमा दुई कोठाबाट मतगणना शुरू गर्ने तयारी रहेको र छ घण्टाको एक समूहमा सातजना कर्मचारी गरी कुल चारवटा मतगणना गर्ने समूह परिचालन गर्ने तयारी रहेको प्रमुख पौडेलले बताए ।
पर्साको मिर्जापुरमा गोली चल्यो
पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित मतदानस्थलमा झडप हुँदा प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मनोजकुमार गुप्ता र नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार नवीन सिंह समर्थकहरूबीच विवाद भएर पछि झडप भएको हो । झडपका क्रममा तीनजना घाइते भएका छन् । केहीबेर तनावग्रस्त बनेको अवस्था प्रहरीले चार राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिएको प्रउ रमेश बस्नेतले बताए ।