-बैद्यनाथ ठाकुर
आजभन्दा १५/२० वर्ष पहिलेसम्म शहरबजारमा सडकछेउमा चटक देखाउनेहरू प्रायः सर्वत्र भेटिन्थे । उनीहरू हातमा डमरु, बाँसुरी जस्ता चिज राख्ने गर्थे । एउटा टोकरीमा विषदन्त निकालिएको सर्प पनि राख्ने गर्थे । त्यसको अगाडिमा एउटा किलामा न्याउरी मुसो बाँधिराखेको हुन्थ्यो । अब एकछिनमा शुरू हुन्छ लौ हेर्नुहोस् सर्प र न्याउरी मुसोको लडाइँ भनेर सयौंपटक जोडजोडले कराउने गर्थे । कामविशेषले शहर पसेका गाउँका सीधासाधा किसानहरू सर्प र न्याउरी मुसोको लडाइँ हेर्न पाउला भनेर घण्टौं बस्ने गर्थे । तर चटकेले कहिले पनि सर्प र न्याउरी मुसोको लडाइँ गराउँदैनथ्यो । किनभने चटकेलाई थाहा छ, सर्पलाई न्याउरी मुसोले मारिहाल्छ । अनि भोलिदेखि फेरि कसरी चटक देखाउने ? के भनेर मानिसहरूलाई आकर्षित गर्ने ? गाउँघरका सीधासोझा मानिसहरूलाई सबै रोग ठीक हुन्छ भनेर जन्तर कसरी बेच्ने त ? त्यसैले झन्डै सयजनाको हाराहारीमा मानिस जम्मा भइसकेपछि जहिले पनि चटकेले बडो चलाखीपूर्ण तरीकाले जन्तर निकाल्ने गथ्र्यो र भन्थ्यो एक जन्तर सय समाधान । सय रोगको एक इलाज । मसान बाबाको सिद्ध जन्तर । यो जन्तर लिएपछि स्वप्नदोष आउँदैन । रातिराति हिंड्नुपर्दा भूतप्रेतले भेट्दैन । यो जन्तर सुरक्षा कवच जस्तै हो । पेट दुखेको, छाती दुखेको, टाउको दुखेको , ग्यास्टिक, गानो, गोला जुनसुकै रोगमा एक गिलास पानीमा जन्तर डुबाएर पानी पिएपछि सबै प्रकारका रोगबाट मुक्त हुन्छ । यस्तो झूटो कुरो भनेर मानिसलाई ठगेर आफ्नो घरपरिवार चलाउने देशभरिमा एउटा ठूलो जमात नै थियो । यस प्रकारको काममा खासगरी दक्षिणको देश भारतबाट चटकेहरू नेपाल प्रवेश गर्ने गर्थे । पछि बिस्तारै बढ्दै गएको विज्ञान प्रविधियुक्त शिक्षा चेतना तथा प्रशासनिक निगरानीले गर्दा हिजोआज यस्ता चटकेहरू नगण्य नै देखिन्छन् ।
हिजो देशभरि स्थानीय निर्वाचन हुँदै थियो । स्थानीय निर्वाचनमा प्रस्तुत भएका संसदीय दलहरू तथा तिनले बनाएको गठबन्धन तथा तिनका उम्मेदवारहरूको विगतको चरित्रलाई समेत हेर्दा तिनै चटकेहरूको सम्झना मेरो मानसपटलमा ताजा भएर आयो । जसरी हिजो चटकेले सर्प र न्याउरी मुसो देखाएर, जन्तर बेचेर आफ्नो परिवारको भरणपोषण गर्ने गथ्र्याे, ठीक त्यसैगरी आज संसदीय दलहरू विकासको सपना देखाएर पाँच वर्षसम्म अनुदान तथा कर प्राप्त रकममा कमिशनको दुनो सोझ्याएर अकुत सम्पत्ति कमाउने गरेका छन् । जसरी हिजो चटकेलाई थाहा थियो कि सर्प र न्याउरी मुसोको लडाइँ गराएमा सर्पलाई न्याउरी मुसोले मारिहाल्छ र भोलिदेखि फेरि चटक देखाउनलाई अर्थात् गाउँघरका सीधा सोझा जनतालाई भ्रमित गर्न तथा आफूतिर आकर्षित गर्नका लागि कुनै साधन रहनेछैन । ठीक त्यसैगरी कोही पनि चुनाव जितेर आयो भने आफ्नो भँुडी भर्नेबाहेक केही गर्नेछैन । किनभने सबै प्रकारका विकास ग¥यो भने फेरि अर्काे चुनावमा जनतालाई झूटो आश्वासन दिन के भन्ने त ? त्यसै कारण कहिले पनि विकास नगर्ने, दिन प्रतिदिन प्रत्येक कुरामा जनतालाई परनिर्भरतातर्फ अग्रसर गराउँदै लग्ने र अन्ततः चरम गरीबीको दलदलमा फसाएर आफ्नो दास बनाइराख्ने रणनीतिले नेता तथा तिनका दलहरू अगाडि बढिरहेका छन् ।
कतिपय ठाउँमा दलहरूले निर्वाचनको मतदान प्रक्रियामा बाकस फुटाइदिएको, एकअर्कामाथि साङ्घातिक हमला गरेको, अशान्ति र हिंसा मच्चाएका श्रब्य दृश्यहरूले सामाजिक सञ्जालहरू भरिभराउ छन् । आखिर चुनावपछि गर्न पाइने ब्रह्मलुटकै कारण एकअर्कामाथि हिंसात्मक हमला गरेको देखिन्छ । त्यस्ता ठाउँहरूमा चुनाव स्थगन केवल हिंसा उत्पन्न गर्ने दलहरूको लागि न्यायपूर्ण छ त ? यो विषय कस्तो छ भने भ्रष्टाचारको होहल्ला बढी भएमा अमुक कर्मचारीलाई त्यहाँबाट अन्यत्र सोही पदमा सरुवा गरिदिए जस्तो मात्रै हो । यस अर्थमा कडा कानून किन बनाउँदैनन् । किनभने धाँधली सबैको निम्ति प्यारो छ । धाँधलीको बारेमा अदालततिर मुद्दामा जाँदा न्यायप्रक्रिया यति झन्झटिलो र ढिलो छ कि अर्काे निर्वाचन भइसक्छ तर मुद्दा किनारा लागेको हुँदैन ।
यतिबेला सबैको मनमा दुई प्रकारका कुरा खेलिरहेको छ । एउटा, उ, जुन दलमा छ, त्यही दल जित्छ भनेर अर्काे जीतहारको घोषणापछि के हुन्छ त ?
पहिलो कुरो जुन दल जिते पनि वा हारे पनि निर्वाचनपछि गाउँशहरमा विकासको अर्थमा खासै केही पनि फरक पर्नेवाला छैन । फरक यति हो कि बिचरा लाखौं करोडांै रुपैयाँ खर्च गरेर फलानो त जित्यो तर फलानो चाहिं हा¥यो । उसको लगानी डुब्यो । अब उसको बिल्लबाठ हुनेवाला छ ।
दोस्रो, ऊ जुन दलको टिकटबाट चुनाव हारेको छ, आगामी चुनावमा अर्काे दलबाट चुनाव लड्नेछ । किनभने संसद्भित्र भएमा बाहिरीरूपमा देखिएका तीन दल राजावादी, काङ्ग्रेस तथा कम्युनिस्ट, यिनीहरू सबै रूपमा मात्र फरक–फरक दल हुन् । यिनको झन्डा, नाम, घोषणापत्र, राजनीतिक दस्तावेज आदि कुराहरू मात्र फरक छन् । तर व्यवहारमा अर्थात् सारमा संसद्भित्रका सबै दल एउटै हुन् । यिनीहरूको जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने एकमात्र उद्देश्य छ । यो उद्देश्य पूरा गर्न यिनीहरूलाई रोक्ने कुनै शक्ति छैन । न यिनको विधानले रोक्छ, न यिनको सिद्धान्तले रोक्छ, न यिनको दर्शनले रोक्छ । त्यसैले त हामी हेरिरहेका छौं, कथित कम्युनिस्टहरू सत्तामा आफू पुग्न नपाउँदा झन्डै दुई तिहाइ बहुमतको सरकार नै खसालेर प्रतिपक्षी दल काङ्ग्रेसको नेतृत्वमा सरकार बनाए । कुनै नैतिकता, नीति, सिद्धान्त, दर्शन, विचार कसैले रोक्यो त ?
अहिले आफूलाई धुरन्धर कम्युनिस्ट भनाउन रुचाउनेहरू कमल थापा र राजेन्द्र लिङ्गदेन जस्ता घोर राजावादीको पुच्छर समातेर गौरवान्वित महसूस गरिरहेका छन् । आफ्नै दलका जुझारु, परिश्रमी, त्यागी, बलिदानी कार्यकर्ताहरूलाई दलको हितविपरीत कसैले रूखमा, कसैले सूर्यमा, कसैले हलोमा मत हाल्न विवश पारेका छन् । हो, सत्तामा गएपछि पाउने भत्ताको यति धेरै महŒव छ कि दलको लाइनविपरीतका व्यक्तिलाई टिकट दिएर भएपनि उही चटकेझैं आफ्नो पारिवारिक भरणपोषणको लागि झूटो जन्तर (विकास) बेच्नुपरेको छ ।