स्थानीय तह निर्वाचनका सबै प्रक्रिया पूरा भएर आज शुक्रवार मतदान हुन गइरहेको छ। देशभर स्थानीय तह निर्वाचनलाई लिएर मतदाताहरूमा निकै उत्साह छ। देश सङ्घीय गणतन्त्रमा गइसकेपछि आज दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लिएर आममानिसमा उत्साह हुनु अस्वाभाविक होइन। राजधानीबाट आआफ्नो जिल्ला घर जानेहरूको बिहीवारसम्म ठूलो भीड रह्यो। बिहीवार मध्यरातबाट निर्वाचनका कारण अनुमति लिएका सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ। शुक्रवार हुने निर्वाचनका लागि राजधानी बाहिरिनेहरूको भीड एक सातादेखि निकै बढेको थियो। काठमाडौंबाट वीरगंज आउने टाटा सुमोले भाडा दोब्बरभन्दा बढी गरेको छ। बसहरूमा पनि महँगो भाडा तिर्न यात्रुहरू बाध्य भए। विमानको भाडा पनि कुनै बेला प्रतिव्यक्ति १३ सयसम्म पुगेकामा एक सातादेखि ३६ सय रुपैयाँभन्दा तल झर्न सकेको छैन। निर्वाचन सकिएपछि तीन दिन बिदा भएकोले यसपटक मङ्गलवारदेखि राजधानी फर्कनेहरूको भीड हुन्छ र आआफ्नो जिल्लाबाट काठमाडौं जानेहरूले महँगो भाडा तिर्नुपर्छ। यसै पनि निर्वाचन महँगो भएको छ। निर्वाचनमा सहभागिता जनाउन पनि अब महँगो साबित भएको छ, जिल्लाबाहिर बस्नेहरूका लागि।

जिल्लाबाहिर बसे पनि बसाइँसराइ नगरेकाहरूले यस्तो पीडा भोग्नुपरेको छ। आफू जन्मे–हुर्केको स्थानमा मतदान गर्ने धोको र आफूले चाहेको उम्मेदवारलाई जिताउने इच्छाले पनि धेरैले बसाइँसराइ नगरेको हुनुपर्छ। त्यसैले पाँच वर्षमा हुने निर्वाचनमा यस प्रकारका दुःख–कष्ट सहन गर्न पनि मानिसहरू पछि पर्दैनन्। यस्तोमा कतिपय चलाख मतदाताले उम्मेदवारबाट यात्रा खर्च भरण गराउँछन्। असमर्थ मतदातालाई मतदानमा सहभागिताको लागि उम्मेदवारले गर्ने सहयोगलाई अन्यथा नभने पनि सामथ्र्यवान् मतदाताहरूले अवसरको फाइदा लिंदा उम्मेदवारहरू थप आर्थिक भार वहन गर्न बाध्य छन्। चुनावी विकृतिको यो अर्काे पाटो हो। अहिले सबैलाई चुनाव लागेको छ। मतदान अधिकृतहरू मतदान स्थल तथा केन्द्रलाई व्यवस्थित गर्ने काममा सक्रिय भएका छन् भने उम्मेदवारहरू मौन अवधिमा पनि गुपचुप प्रचारप्रसार गरि नै रहेका छन्। निर्वाचन आचारसंहिता यसपटक पनि अपेक्षाकृत पालना गरिएन। चुनाव प्रचारप्रसारका बेला भएका उल्लङ्घनका घटनामा आयोगले त्यत्ति सा–हो कडाइ गर्न सकेन। वैशाख २७ गते मध्यरातदेखि मौन अवधि शुरू भएको छ। र यो मौन अवधिमा पनि मतदाता आकर्षित गर्ने कामहरू भइरहेका छन्। सामाजिक सञ्जाल हेर्ने हो भने यो अवधिमा झनै जञ्जाल मच्चिएको छ। मतदाता आकर्षित पार्न आर्थिक चलखेलका कुराहरू आएका छन्।

यसै पनि यो मौन अवधि पहिलेदेखि नै बदनाम छ। यसैबखत सबैभन्दा बढी आर्थिक चलखेल हुन्छ। यसपटक पनि सो कार्य नियन्त्रण हुन सकेन। भोजभतेर, खानपिनको कुरै भएन। समूह, समूह बनाएर वडाका टोलटोलमा मिनी पिकनिक भयो। होडबाजीमा उसले खायो त म किन नखाने, उसले लियो त म किन नलिने भन्ने सोच विकसित भएका कारण विकृति मौलाएको हो। यस प्रकारको सोचलाई मतदानमा प्रयोग नगरौं। हाम्रोभन्दा पनि राम्रो चुन्नेतर्फ मतदाताहरू सचेत होऔं र आफ्नो वडा, पालिकाहरूमा असल नेतृत्व चयन गर्ने कुराबाट अब भने नचुकौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here