दुनियाँमा धेरै किसिमका प्रदूषण छन् । मानसिक प्रदूषणबाहेक सबै भौतिक प्रदूषण हुन् । त्यसैमध्येको एउटा तर नेपाली जनमानसले बुझ्न नसकेको चाहिं ध्वनि प्रदूषण हो । तूँ डाल डाल मैं पात पात भनेजस्तै निर्वाचन आयोगले जति आचारसंहिता जारी गरे पनि उम्मेदवारहरू नयाँ–नयाँ प्रदूषण बढाउन तत्पर रहन्छन् । हिजो–अस्ति देशमा निर्वाचन आउँदा केही दिन शहर रङ्गीन पोस्टर, तूल आदिले झकिझकाउ हुन्थ्यो । दुई दिनपछि त्यहीं रङ्गीन पोस्टर, तुल, भित्ते लेखनले सभ्यतालाई गिज्याउन थाल्थ्यो । निर्वाचन आयोगले कडा आचारसंहिता जारी गरेर त्यस्ता प्रदूषण कम गर्न केही हदसम्म सफलता त पायो तर त्योभन्दा पनि बढी राप–तापसहित यसपालि देखिएको ध्वनि प्रदूषणले मतदातालाई यति सास्ती दियो कि कुनै नाम नचलेको, कसैले नचिनेको उम्मेदवारले मैले कुनै ध्वनि प्रदूषण गरेको छैन भन्ने साबित गर्न सक्यो भने सबैले उसैलाई भोट हाल्ने थिए । ध्वनि प्रदूषणमा निर्वाचन आयोगले प्रतिबन्ध नलगाएको त होइन, तर ठाउँको ठाउँ समाउन नसके ध्वनि प्रदूषणको प्रमाण फेला पर्दैन ।

निर्वाचन आयोगमा पनि यसै देश र समाजका मानिसहरू छन् । उनका पनि आफन्त, मित्र निर्वाचनमा उम्मेदवार छन्, तसर्थ त्यस्ता आचारसंहिता उल्लङ्घनका घटनालाई पचाइदिनु नितान्त उचित लाग्छ । यसै पनि हामीकहाँ काम गर्ने कसैको चाहना हुँदैन । बितेको हप्ता दिनभन्दा पनि पहिलेदेखि कुनै पनि सरकारी कार्यालयहरूमा कुनै कामले जाँदा भोटपछि भन्ने सशक्त जवाफ सुनिएकै हो । अनि थाहा पाएर पनि निर्वाचन आयोगले आचारसंहिताका, जस्तै ठूला आरोप उजूरी परेन, परेको भए अवश्य कारबाई गथ्र्यौं भन्नुलाई स्वाभाविक नेपाली संस्कार भन्न सकिन्छ । तसर्थ ध्वनि प्रदूषणलाई विवश भएर सहनु नेपाली जनताको नियति बन्न पुगेको थियो । आजदेखि प्रचार अभियान बन्द हुँदैछ । प्रचार बन्दले मानसिक प्रदूषण फैलाउँछ । यद्यपि यस प्रदूषणले कसैलाई कुनै पीर पर्दैन । जस कसैको मानसिक प्रदूषण हुन्छ, ऊ दङ्ग मात्र पर्छ र जसको हुँदैन, उसलाई कुनै सरोकार रहँदैन । मानसिक प्रदूषण भनेको पैसाको खोलो बगाउनु हो । पैसाको खोलो बगाउँदा किञ्चित ध्वनि हुँदैन । हुनत यस प्रदूषणमाथि पनि निर्वाचन आयोगले कडा प्रतिबन्ध लगाएको छ । तर देखिने र सुनिने प्रदूषण रोक्न त टाउको कन्याउने आयोग यो अदृश्य प्रदूषणप्रति किन संवेदनशील हुन्थ्यो !

अब निर्वाचनका लागि गोटा तीन दिन बाँकी छ । यसपछि माथि भनिएका कुनै पनि प्रकारका प्रदूषण, उम्मेदवार–जितुवा हुन् वा हरूवाबाट हुनेछैन । जनताले राहत महसूस गर्नेछ । आफ्नो भाग्य बनाउने, सेवा–सुविधा प्रदान गर्ने जनप्रतिनिधि बनाउने अवसर पाएको जनताले ती दिनहरू निकै दुःखजिलो गरी बिताउँछ । कसो कुनै बाहुबली उम्मेदवारलाई राति पनि लाउडस्पीकर लगाएर भोट माग्ने सुर चढेन १ नेपाल हो, त्यस्तो पनि हुन सक्थ्यो । कसो मोबाइल इन्जिनीयरहरूले सन्देश पठाउने विभिन्न एप्स बनाइदिएका छन्, नत्र मतदाताले दिनरात फोन उठाउँदाकै सास्ती बेहोर्नुपथ्र्यो । अब त अखबारमा विज्ञापन छपाएर भोट माग्दा पनि आचारसंहिता लाग्ने भइसक्यो । जसमा कुनै हानि छैन, त्यो चाहिं वर्जित, जसले सकल नागरिकलाई दुःख दिन्छ, त्यसमा भने छुट । त्यसैले त भनिएको छ–अजब नेपालको गजब चाला । लेख्नेलाई फूलको माला, पढ्नेलाई सुनको माला ।  यो कथा निर्वाचन आयोगको कार्यालय जाला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here