प्रस, परवानीपुर, २७ वैशाख/
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजीकिंदै जाँदा विभिन्न राजनीतिक दलहरूले खर्चको दायरा बढाउँदैछन् ।
शहरदेखि ग्रामीण भेगका सम्पूर्ण उम्मेदवारले पोस्टर, पम्पलेटिङ, घरदैंलो, ब्यानर, चुनावी गीत, भोजभतेरलगायत क्रियाकलापमा उम्मेदवारी हुनुभन्दा एक साताअगाडिदेखि सुस्त गतिमा गर्दै आएका थिए भने अहिले सबै उम्मेदवारहरू मनपरी खर्च गर्न थालेका छन् ।
त्यस कारण उम्मेदवारहरूले पैसाको जोहो गर्ने काममा पनि तीव्रता दिएका छन् । बाराको एउटा गाउँपालिकाका अध्यक्षका प्रत्याशीका अनुसार अहिलेसम्म उनको रु १० लाख खर्च भइसकेको र अझै १० लाख खर्च गर्ने योजना रहेको बताए । उनले भने, अहिले एकदमै तनावमा छु, पैसाको जोहो गर्दैछु । पैसाविना चुनाव जित्न मुश्किल छ ।
वडासदस्यका उम्मेदवारले न्यूनतम खर्च गरिरहेका छन्, गापाको वडाध्यक्षले कम्तीमा १० लाख खर्चको लक्ष्य राखेका छन् । त्यसैगरी, नगरपालिकाका वडाध्यक्षका उम्मेदवारले १५ लाखभन्दा बढी खर्च गर्ने तयारीमा छन् भने महानगरका वडाध्यक्ष उम्मेदवारले २० लाखभन्दा बढी खर्च हुने अनुमान गरेका छन् ।
त्यसैगरी, गापाको अध्यक्ष/उपाध्यक्षले न्यूनतम २५ लाख, नगरपालिकाको प्रमुख/उपप्रमुखले ५० लाख र महानगरका प्रमुख/उपप्रमुखले करोडौं खर्च गर्ने हिसाबले रकमको जोहो गर्दैछन् ।
यसरी चुनावमा होमिंदै जाँदा उम्मेदवारहरूले जग्गा धितो राखेर बैंकबाट ऋण लिएर पैसाको जोहो गरिसकेका छन् भने कतिपय उम्मेदवारले सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । त्यसैगरी, आफन्तजनबाट पनि सहयोग लिंदैछन् भने कतिपयले जग्गा बेचेर रकमको जोहो गरिरहेका छन् ।