प्रस, परवानीपुर, २७ वैशाख/

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको राजनीतिक विश्लेषकहरूले फरक किसिमले विश्लेषण गरेका छन् । वीरगंज र पर्सा जिल्लाको चुनावबारे राजनीतिक विश्लेषक चन्द्रकिशोरले खासगरी दुईटा समूहबाट लडिरहेका उम्मेदवारहरूको लागि चुनाव लेदही र देदहीको रूपमा विश्लेषण गरेका छन् ।

उनले काङ्ग्रेस अहिले देदहीको अवस्थामा छ भने एमाले लेदहीको रूपमा चुनावी रणनीति अनुसार बढेको बताए । “नेपालकै एउटा प्रमुख दल नेका हो तर अहिलेको अवस्था पाँच दलीय गठबन्धनको छ ।

त्यस कारण नेकाले कतिपय ठाउँमा आफ्नो दलको उम्मेदवारलाई पाखा लगाएर गठबन्धनका अन्य दलहरूलाई टिकट दिएको छ,” उनले भने, “त्यस कारण नेका अहिले दही बाँडेर गठबन्धनको उम्मेदवारलाई विजयी बनाउने दिशातर्फ लागेको छ ।”

त्यसैगरी, उनका अनुसार नेकपा एमाले, लोसपा र राप्रपा नेपाललगायत अन्य दलको सहकार्यमा जिल्लाभरि नै प्रभावकारी किसिमले चुनावी रणनीति बनाइएको छ । जसमा देदही भनेर एमाले चुनावमा भाग लिइरहेको छ । अर्थात् एमालेका पुराना नेता, कार्यकर्ताको मत साथसाथै एमालेले अन्य साना दलहरूसँग पनि सहकार्य गरेर दही लिने अर्थात् मत लिने योजनामा छ ।

उनका अनुसार अहिलेको चुनावमा जातीय समीकरण, पैसा, निर्वाचित उम्मेदवारको प्रभावलगायत तŒवहरूले असर पार्ने सम्भावना छ । विगतको चुनावमा मधेस आन्दोलनको आधार थियो, सबैजनाले मधेसवादी दलको सेन्टिमेन्टमा मत हाले तर यसपालिको चुनाव फरक छ । मुख्यगरी ठाउँ–ठाउँ अनुसार तीन/चार पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान छ । खासगरी महानगर र उपमहानगरमा गठबन्धन र नेकपा एमालेबीच लडाइँ देखिएको छ । गठबन्धनमा नेकाको मतले गठबन्धनको नतीजालाई पूर्णता दिने भएकोले स्थानीय चुनावमा नेकाको मतको विश्वास अन्य दलले पाएनन् भने आगामी प्रदेशसभा र प्रतिनिधिसभामा पनि यसको असर देखिने उनको विश्लेषण छ ।

उनले पर्सा जिल्ला सँगसँगै अन्य जिल्लाहरूमा पनि योग्य, सक्षम र राजनीति बुझेका उम्मेदवारको अभाव खडकिएको चित्रण गरे । साथै उनले अहिलेको मिडिया मौन रहेको पनि विश्लेषण गरे । मिडियाले कस्तो नगरप्रमुख हुनुपर्ने, को चुनावमा उठ्नेलगायत विषयवस्तुमा कम केन्द्रित रहेको र प्रायोजित समाचार, सामग्री पस्किनेतर्फ केन्द्रित रहेको आरोप लगाए ।

अहिले खोलिएका दर्जनौं चुनाव केन्द्रित अनलाइनले आफ्नो पक्षीय उम्मेदवारको चुनावी समाचारलाई मात्र स्थान दिइरहेका छन् । तर कुनै उम्मेदवारको विगतका कमीकमजोरी र जनताले कसलाई मत दिंदा उचित हुन्छ भन्ने खोज सामग्रीमा कमी भएको बताए । साथै उनले सामाजिक सञ्जालमा डलर खर्च गरेर उम्मेदवारहरूको भइरहेको प्रचारको पनि निन्दा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here