प्रस, वीरगंज, २७ वैशाख/

जिल्ला प्रशासन कार्यालय, पर्साले सोमवार सूचना प्रकाशित गरी स्थानीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि वैशाख २७ गते मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म पर्सा जिल्लामा मदिरा बिक्री, वितरण तथा सेवनमा निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको सूचनामा सो अवधिमा मदिरा ओसारपसार, बिक्री वितरण, सेवनमा निषेध गर्नुका साथै ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि सीमानाका बन्द गरिने जनाएका छन् । उनले मतदान सम्पन्न नहुन्जेलसम्म पर्सा जिल्लाको भारतसँग सीमा जोडिएका नाकाबाट आवतजावत बन्द गरिने बताए ।

यसैगरी, मतदानका दिन वैशाख ३० गते मतदान स्थल, केन्द्रमा क्यामरा, मोबाइल लैजान र अनधिकृतरूपमा मतदान केन्द्रको फोटो खिच्न निषेध गरिएको बताए ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, बाराले पनि सोही आशयको सूचना जारी गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निर्वाचन अवधिमा मदिरा बिक्री बन्द गरिएको र सीमानाकाबाट आवातजावत मतदान सम्पन्न नहुन्जेल बन्द गरिने जनाएका छन् । उनले मतदान अवधिभर सवारी पास लिएका सवारीसाधन मात्र सञ्चालन हुन पाउने जनाएका छन् । यसअलावा वैशाख २९ गते राति १२ बजेदेखि मतदान कार्य नसकिएसम्म एम्बुलेन्स, दूध, औषधि बोकेका सवारीसाधन, खानेपानी ट्याङ्कर, शववाहन, दूरसञ्चार सेवा, वारुणयन्त्र, अस्पताल, विद्युत्, अत्यावश्यक सेवा र कूटनीतिक नम्बर प्लेटका सवारीसाधनबाहेक सबैखाले सवारीसाधन सञ्चालनमा निषेध गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here