प्रस, परवानीपुर, २७ वैशाख/

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन गराउन पर्सा जिल्लामा सम्पूर्ण मतदान अधिकृत तथा कर्मचारीहरू मङ्गलवारदेखि आआफ्नो मतदान स्थलमा पुग्दैछन् ।

जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख रञ्जीता झाले मङ्गलवार बिहानदेखि अपराह्न ५ बजेसम्म मतदानसँग सम्बन्धित सामग्री हस्तान्तरण गरेर गाउँ–गाउँ पठाउने बताइन् । उनले पर्सामा १४ वटा पालिकामा ४०७ वटा मतदान केन्द्रको लागि मतदान अधिकृत र त्यत्तिकै सहायक मतदान अधिकृत नियुक्त गरी जिम्मेवारी दिइएको बताइन् ।

पाँच सयभन्दा कम मतदाता रहेको केन्द्रमा सातजना र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा आठजना कर्मचारी नियुक्त गरिएको छ । पर्सा जिल्लामा तीन हजार २०० भन्दा बढी कर्मचारी परिचालन गरिएका छन् । मतदान केन्द्रमा पाँचजना जिल्लाबाट र तीनजना स्थानीय स्वयंसेवक गरी आठजना कर्मचारीको व्यवस्था गरिएको छ ।

मङ्गलवार साँझ मतदान केन्द्रमा पुग्ने अधिकारीहरूले मतदान केन्द्रको चौहद्दीसहितको सूचना प्रकाशन गर्ने, मदिरा, हातहतियार निषेधित क्षेत्र घोषणासहितको सूचना निकाल्ने, सर्वदलीय बैठक बस्ने, मतदान प्रतिनिधि चयन गर्ने, मतदाता नामावलीको सूचना प्रकाशन गर्ने, वैशाख २८–२९ गते मतदाता परिचयपत्र वितरण गर्ने एवं मतदानस्थलमा मतदान कार्यको लागि तयारी पूरा गर्ने जिम्मेवारी रहेको छ ।

मतदान भएकै दिन रातिदेखि मतगणना

वैशाख ३० गते हुने स्थानीय तहको मतदानको मतगणना सोही दिन रातिदेखि शुरू हुने बताइएको छ ।

प्रमुख निर्वाचन अधिकृत झाले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समयावधि तोकिएको छ भने त्यसपछि बक्सा सिल गर्ने, ढुवानी गर्ने, सङ्कलन, भण्डारण गर्ने, मतगणनाको लागि व्यवस्थापन गर्ने, कागजात मिलाउने र खाना खाएर कर्मचारीहरूले करीब राति ९ बजेपछि मतगणना शुरू गर्ने बताइन् । चौधवटा पालिकाको चौध स्थानमा मतगणना हुने उनले जानकारी गराइन् । 

यसरी मत दिए हुन्छ बदर

मतदाताहरूले सहीरूपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले अपील गरेको छ । मतदाताले चुनाव चिह्नको कोठाभित्र मात्र स्वस्तिकको चिह्न एकपटक छाप लगाउनुपर्छ । यदि कुनै मतदाताले ल्याप्चे हानेको अथवा कोठाभन्दा बाहिर छाप लगाएमा मत बदर हुने जनाइएको छ ।

साथै दुईजना सदस्यको एउटा कोठामा एउटा स्वस्तिकको छाप मात्र लगाउनुपर्ने निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here