धर्मेन्द्र चौरसिया, पोखरिया, २७ वैशाख/
पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा स्थानीय चुनावमा त्रिपक्षीय भिडन्तको सम्भावना छ । नेपाली काङ्ग्रेस, एमाले र जसपाबीच धोबिनी गापामा यसपटक प्रतिस्पर्धा हुने स्थानीयको अनुमान छ ।
नेकाबाट अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेश कुर्मीका सहोदर दाइ वशिष्टनारायण कुर्मी चुनावी मैदानमा छन् । गत चुनावमा भाइ र यो चुनावमा दाइले नेकाबाट टिकट पाएका छन् । जसपाबाट मदन चौहान चुनावी मैदानमा छन् ।
एमालेबाट सद्दाम हुसेन, माओवादीबाट सन्तोष पटेल र लोसपाबाट ललन पटेल प्रतिस्पर्धी छन् ।
उपाध्यक्षमा नेकाबाट मञ्जु देवी, जसपाबाट रञ्जु देवी, एमालेबाट अनारकली देवी, माओवादीबाट राधिकादेवी चमइन, लोसपाबाट राजपति देवी र स्वतन्त्र उम्मेदवारमा राजाप्रसाद कुर्मी (आरके पटेल) छन् ।
यसैगरी, गत स्थानीय चुनावमा उपाध्यक्षमा तत्कालीन मधेसी जनअधिकार फोरम (हाल जसपा)बाट विजयी पारसनाथ कुर्मी यसपटक एमालेबाट वडा नं ३ को अध्यक्षमा चुनाव लड्दैछन् ।
नेकाबाट वडाध्यक्षमा बन्धुसाह तेली, राजकिशोर पटेल, राजकिशोर कुर्मी, अब्बास मियाँ, उमेश कुर्मी, एमालेबाट हरिप्रसाद कुर्मी, नन्दलाल कुर्मी, पारसनाथ कुर्मी, सुनील साह, ऐनुलहक मियाँ, जसपाबाट ललनप्रसाद कुर्मी, देवेन्द्र प्रसाद, पप्पु पटेल, दिवाकर पटेल, मनौवर अहमद, माओवादीबाट शम्भुप्रसाद कुर्मी, लालबाबू बनिया र लोसपाबाट मन्टु साहलगायत चुनावी प्रतिस्पर्धामा छन् ।