प्रस, परवानीपुर, २५ वैशाख/

घरदैंलोमा निस्केका सर्लाही, हरिवन नगरपालिका–११ बालगङ्गाका नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष तथा सदस्य गरी पाँचजना बिरामी भएका छन् ।

वडाध्यक्षका उम्मेदवार शेख इस्तिहार, वडा सदस्यका उम्मेदवारहरू ओमप्रकाश रौनियार, पूर्णिमा भण्डारी, शेख आरिफ, शेख रियाज गरी पाँचजना बिरामी परेका हुन् ।

पाँचजनामध्ये वडाध्यक्षका उम्मेदवार शेख इस्तिहार र वडा सदस्यका उम्मेदवार ओमप्रकाश रौनियारको वीरगंजस्थित वयोधा अस्पतालमा र तीनजनाको सर्लाहीकै हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।

मत माग्न घरदैंलोमा रहेकै बेला दिउँसो २ बजेपछि उम्मेदवारहरूले अचानक बान्ता गर्न थालेको प्रउ पोखरेलले बताए । उनले खानेकुरामा विष मिसाएर खुवाइएको कुरा आइरहेको र सोबारे छानबीन भइरहेको बताए । उनले हाल पाँचैजनाको अवस्था सामान्य रहेको बताए ।

वडाध्यक्षका उम्मेदवार इस्तिहारका भाइ महमद अख्तर राजाले एमालेबाट वडा नं ११ को अध्यक्ष पदका उम्मेदवार शेख मेहबुब राजाका दाजुभाइले खुवाएको मिठाइ र कोकाकोलामा विष मिसाइएको हुन सक्ने आशङ्का व्यक्त गरे । उनले दिउँसो डेढ बजेतिर घरदैंलोमा पाँचजना निवर्तमान वडाध्यक्ष एमालेका शेख मेहबुब राजाका दाजुभाइको घरमा माओवादी केन्द्रका उम्मेदवारहरू पुगेको र सोही बेला मिठाइ र कोक खुवाएपछि पाँचजनाको स्वास्थ्य अवस्था बिग्रेको आरोप लगाइँदैछ ।

प्रहरीले विष नै खुवाएको हो कि अरू कारणले स्वास्थ्यमा समस्या आएको भन्नेबारेमा बान्ताको परीक्षण रिपोर्ट आएपछि भन्न सकिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here