राजन पौडेलको जन्म २०३७ चैत १० गते धादिङ्गमा भएको हो । २०४४ सालमा सिमरा आएका पौडेलले २०५२ सालमा एसएलसी दिए । पौडेल कक्षा ९ देखि अनेरास्ववियुको राजनीतिमा प्रवेश गरेका हुन् । अध्ययनको सिलसिलामा २०५५ सालमा पौडेल काठमाडौं गए । पौडेल २०५७ सालदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिए । राजनीतिक यात्राकै दौरानमा पौडेल १३ महीना नख्खु जेल पनि बसे । विद्यार्थी राजनीतिबाट दलीय राजनीतिमा आएका पौडेलले पटक–पटक प्रहरीको यातना भोगे । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पौडेल क्षेत्र नं ६ को इन्चार्ज भए । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका पौडेल त्यति बेला विजयी हुन सकेनन् । पाँच दलीय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनेका पौडेलसँग प्रतीककर्मी गम्भीरा सहनीले लिएको अन्तर्वार्ताको अंशः

–             तपाई दोस्रोपटक नगरप्रमुख पदको उम्मेदवार बन्नुभएको छ, गएको निर्वाचनको समीक्षा कसरी गर्नुहुन्छ ?

+             गत स्थानीय तहको निर्वाचनमा मेरो धेरै राम्रो माहोल थियो । त्यति बेला मतदानको एक दिनअघि केही गैरराजनीतिक क्रियाकलापहरू भए । निर्वाचन आचारसंहिताविपरीतका कामहरू भए, जसले गर्दा परिणाम हामीले सोचेजस्तो भएन । हामी तेस्रो स्थानमा खुम्चिनुप¥यो । जनमतको सम्मान गर्ने राजनीतिक दलको उम्मेदवार भएका कारण हामीले मतपरिणामलाई स्वीकार ग¥यौं ।

–             अहिलेको चुनावमा चाहिं के के फरक पाउनुभएको छ ?

+             अहिले हामी व्यक्तिगत र साङ्गठनिकरूपमा अघि छौं । अर्को कुरा एमालेको फुटपछि हामी बलियो भएका छौं । छुट्टाछुट्टै लड्दा पनि काङ्ग्रेस र माओवादीको भिडन्त हुने थियो । अहिले सत्ता गठबन्धनको तर्फबाट म उम्मेदवार भएको छु । हाम्रो एजेन्डा बलियो छ । अघिल्ला जनप्रतिनिधिले आफ्ना एजेन्डा पूरा गर्न सकेनन् । हल्ला बाँडिएको थियो, सपना बाँडिएको थियो । झूटा आश्वासन बाँडेर जनतालाई भ्रममा पारिएको थियो । तर यो पाँच वर्षमा ती भ्रमबारे जनता स्पष्ट भइसकेको छ । सबै कुरा नगरवासीलाई थाहा नै छ । हामी जनताको एजेन्डा लिएर यो निर्वाचनमा सहभागी भएका छौं । जनताका तमाम समस्याबारे हामी जानकार छौं र ती समस्या समाधान गर्न योजनाबद्धरूपमा काम गर्दै जानेछौं । यसपटक जनताले  ढाट्नेहरूलाई चिनिसकेको छ । गठबन्धनको प्रतिबद्धता र कार्यान्वयनबारेमा पनि जनता स्पष्ट छ ।

–             एमाले नेतृत्वको उपमहानगरपालिका असफल भइरहँदा त्यसमा माओवादीको भूमिका कस्तो रह्यो ? त्यसमा तपाईंको ठूलो भूमिका छ भनिन्छ नि ?

+             यो कुरामा कुनै सत्यता छैन । स्थानीय सरकार सञ्चालन ऐन नबुझेकाहरूले गरेको कुरा हो । नगरप्रमुखको पद नबुझेको हो । कार्यपालिकाको अधिकार नबुझेको हो । आफूले काम गर्न नसकेपछि यी सबै आरोप लगाइयो । यी सबै कुरा बुझ्न नसकेको हो । नगरसभालाई पङ्गु बनाइयो । नगरसभा सञ्चालन गर्न सक्नुभएन, जान्नुभएन, प्रमुखले गर्नुपर्ने काम उपप्रमुखले गर्नुभयो । वडाध्यक्ष आफैं प्रमुख बन्न खोज्नुभयो । नगरसभालाई नेतृत्व प्रदान गर्न नसक्दा यी समस्या आएका हुन् ।

–             एमाले नेतृत्वको उपमहानगरपालिकाको पाँच वर्षे समीक्षा कसरी गर्नुहुन्छ ?

+             पहिलो कुरा त घोषणापत्र अनुसार उहाँहरूले काम गर्न सक्नुभएन । दोस्रो स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम भएन, अनुसूची ८ कार्यान्वयन भएन । नगरसभाका सदस्यहरू कुनै प्रकारका भूमिकामा देखिएनन् । आवाज पुग्ने ठाउँ भएन । पहिलेको गाउँ विकास समिति जस्तै हुन पुग्यो । क्लबको साधारणसभा जतिको पनि भएन । सुशासनको हिसाबले, कार्यपालिका सञ्चालनको हिसाबले पछि प¥यो । जनमुखी कार्यक्रम ल्याउने हिसाबले कामै भएन । समन्वय गर्ने हिसाबले, सहकार्य गर्ने हिसाबले विभिन्न क्षेत्रसँग सहकार्य भएको देखिएन । एमाले नेतृत्वको प्रमुख, उपप्रमुखको यस्तै गलत कामका कारणले उपमहानगरपालिकाले विकास गर्न सकेन र यसको जग कमजोर हुँदै गयो ।

–             दोस्रोपटक तपाईं निर्वाचनमा होमिंदै गर्दा तपाईंका एजेन्डा के के छन् ?

+             असफलतालाई सफलतामा बदल्नु नै हाम्रो मुख्य एजेन्डा हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गरे मात्र पुग्छ । मानवीय क्षेत्रमा लगानी गर्छौं । किसानको गोठ र खेतमा हामी पुग्छौं । मजदूर क्षेत्र, वातावरणमैत्री विकास गर्नु नै मेरो एजेन्डा हो । बजारहरूलाई आधुनिक बजारमा विकास गर्नको लागि मेरो उम्मेदवारी हो । हामीले गर्ने कामको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छौं । हामी प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा संस्कृति, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकूद तथा रोजगार, सूचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाइ, सडक सञ्जाल, औद्योगिक कोरिडोर व्यवस्थापन, गरीब तथा भूमिहीन व्यवस्थापन, सहकारी तथा सङ्घसंस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई विशेष जोड दिन्छौं ।

–             यी प्रतिबद्धताहरू कतिको पूरा होलान् ? कि सपना मात्रै हुने हो ?

+             त्यो सपना देख्ने हो, जुन सपनाले सुत्नै नदेओस् । सपना मेरो योजना हो । म नसुतीकन लागिरहन्छु, कार्यान्वयन गर्न । म कुनै पनि काममा लागें भने डुबेर लाग्छु । यी सबै योजनालाई कार्यान्वयन गर्न म लाग्छु । सबैभन्दा ठूलो कुरा मैले आजसम्म त्याग गरेको छु । जसका कारण मैले यी सबै काम गर्न सक्छु ।

–             तपाईं नगरप्रमुख भएपछि तपाईंको जीवनशैलीमा पनि परिवर्तन आउँछ कि भन्ने जिज्ञासा छ, तपाईं पनि आर्थिक प्रलोभनमा लाग्नुहुन्छ कि ?

+             १५ रुपियाँको चिया खान नसक्ने बेलामा पनि मलाई १५ लाखको प्रस्ताव आएको थियो । छोराछोरीको शुल्क तिर्न नसक्दा पनि धेरै प्रस्ताव आए । तर धेरै ठाउँमा मैले मेरो सोच परिवर्तन गरेको छु । सामाजिक हितको निम्ति म काम गर्छु । व्यक्तिगतभन्दा पनि सामाजिक हितमा म काम गर्छु । मेरो ठूलो महŒवाकाङ्क्षा छैन । मेरो सोख केही छैन । सामान्य जीवनयापनमा म बाँच्छु । कार्यसम्पादनको त कुरै नगरौं । म सक्छु । म गरेर देखाउँछु । धेरैले मलाई पत्याउँदैनन्, तर मैले गर्दै आएको छु र गर्छु पनि । नगरसभा सदस्यलाई विश्वासमा लिएर काम गर्नेछु । सबैको साथ र सहयोगले काम गर्नेछु । जीतपुरसिमरामा अब नगरप्रमुखको बजेट, उपप्रमुखको बजेट बन्दैन, अब मात्र जनताको बजेट बन्छ । जसको सारसङ्क्षेप हाम्रो प्रतिबद्धतापत्रमा सार्वजनिक भएको छ । यो हामी पाँचै दलको सामूहिक प्रतिबद्धता पनि हो । हिजो, आज र भोलि मेरो जीवनशैलीमा कुनै अस्वाभाविक परिवर्तनहरू पाउनुहुन्न, म त्यसको प्रत्याभूति गर्छु ।

–             एमालेबाट नगरप्रमुखका उम्मेदवार तपाईंको सहपाठी पनि हुनुहुन्छ । उहाँलाई कतिको प्रतिस्पर्धी
ठान्नुहुन्छ ? तपाईं आफू निर्वाचित हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

+             मैले कसैलाई पनि प्रतिस्पर्धी सोचेको छैन । सरस्वतीजी त मेरो साथी हुनुहुन्छ । हामीले सँगै एसएलसी दिएका हौं । अहिले राजन पौडेललाई नै नगरप्रमुख बनाउनुपर्छ भन्ने आवाज छ । त्यस कारण उहाँहरू कसैलाई पनि प्रतिस्पर्धी देख्दिनँ, एजेन्डाको हिसाबले पनि देख्दिनँ । मलाई विश्वास छ मैले नै चुनाव जित्छु भन्ने । मेरो एजेन्डाले नै मलाई जिताउँछ । जनताले नै मलाई जिताउँछ । पाँच दलीय गठबन्धनको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाका जनताले नगरप्रमुखमा मलाई र उपप्रमुखमा मेघा शाहीलाई पनि जिताउँछन् भन्नेमा म विश्वस्त छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here