प्रस, रौतहट, २४ वैशाख/
गौर नगरपालिकाका मेयर पदमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु साह, नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार मोहन यादव र लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार अजयकुमार गुप्ताबीच प्रतिस्पर्धा रहेको स्थानीयवासीले बताएका छन् ।
एसका उम्मेदवार साह राजदेवी एफएमका सञ्चालक तथा समाजसेवा गर्दै आइरहेका छन् भने काङ्ग्रेसका उम्मेदवार यादव गौरीशङ्कर क्याम्पसका सञ्चालक हुन् । क्याम्पसमा गरीब जेहेन्दार विद्यार्थीहरूलाई शुल्कमा सहुलियत दिंदै आएका छन् । यादवका बुबा गौरीशङ्कर यादव गौर नगरपालिकाका मेयर पदमा निर्वाचित भएर कैयौं विकासका कार्यहरू गरेका छन् ।
लोसपाका उम्मेदवार अजयकुमार गुप्ता निवर्तमान मेयर हुन् । २०७४ सालको निर्वाचनमा विजयी भई पाँच वर्ष गौर नगरपालिकाका मेयर पदमा विराजमान रहे । शाही शासनकालमा पनि मेयर निर्वाचित भएका थिए । रौतहटको क्षेत्र न १ मा सांसद पदमा चुनाव लडेका थिए । माधवकुमार नेपालसँग पराजित भएर स्थानीय चुनावमा विजयी भएका थिए । पाँच वर्षको विकासको मूल्याङ्कन जनता अहिले गरिरहेको छ ।
गौर नगरपालिकाका मेयर पदमा नेकपा एमालेबाट अनिलकुमार मिश्र, जनमतबाट गङ्गाधर वर्मा, जनता समाजवादीबाट किरण ठाकुर र स्वतन्त्र उम्मेदवार अनिमेशकुमार मिश्र, सुबोध झाले उम्मेदवारी दिए पनि प्रतिस्पर्धामा तीनजना छन् । एसका उम्मेदवार साह, काङ्ग्रेसका उम्मेदवार यादव, लोसपाका गुप्ताबीच नै अन्तिम सङ्घर्ष हुनेछ ।
यसैगरी राजदेवी नगरपालिकामा दुई पक्षीय प्रतिस्पर्धा छ ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार भिखारीराय यादव र नेकपा एमालेका उम्मेदवार अशू सिंहबीच प्रतिस्पर्धा छ । एसका उम्मेदवार यादव नेकपा एमालेमा थिए । माओवादी र एमालेको एकीकरणपछि पार्टी विभाजन हुँदा माधवकुमार नेपाल र केपीशर्मा ओलीबीच पार्टी फुट्दा माधव नेपाल पक्षमा यादव रही कामकाज गर्दै आएका छन् ।
विगत चुनावमा प्रदेश सभा सदस्य पदमा चुनाव लडी पराजित भएका थिए । विगत लामो समयदेखि राजनीतिमा लागी आफ्नो पैतृक सम्पत्ति गुमाएको जनमानसको भनाइ छ । अFशु सिंह जनता समाजवादी पार्टीबाट २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयर पदमा निर्वाचित भएकी थिइन् ।
जनता समाजवादी पार्टीमा जातीयता भएको कारण नेकपा एमालेमा प्रवेश गरी मेयर पदमा चुनाव लडिरहेकी छन् । मेयर पदमा निवर्तमान मेयर धीरेन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टीबाट नवलकिशोर साह र जनमत पार्टीबाट अशोककुमार सिंह चुनाव लडिरहेका छन् ।