प्रस, वीरगंज, २४ वैशाख/
पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको प्रमुख र उपप्रमुखमा साझा उम्मेदवारहरूलाई जिताउने सङ्कल्प गरेका छन् । शनिवार वीरगंजमा गठबन्धनका ३२ वटै वडाका अध्यक्षहरू सहित जिल्लाका शीर्ष नेताहरू सम्मिलित बैठकमा वडाध्यक्षहरूले गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र इम्तियाज आलमलाई जिताउने सङ्कल्प गरेका हुन् ।
गठबन्धनमा आबद्ध दलहरू एक अर्का प्रति इमानदार नरहेको हल्ला चलिरहेको बेला गठबन्धनका वडाध्यक्षहरूले वडामा मित्रवत् प्रतिस्पर्धा गर्दै नगरप्रमुख र उपप्रमुखमा साझा उम्मेदवारलाई जिताउने सङ्कल्प लिएका हुन् ।
वडामा आफ्नो प्यानलको लागि र नगरप्रमुख, उपप्रमुखमा गठबन्धनको साझा उम्मेदवारका लागि मत माग्ने प्रतिबद्धता जनाइएको काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकमी प्रवृत्तिले घुँडा टेकेको र बहुमतको सरकार सहित प्रदेशको सरकारबाट पनि हात धुनुपरेको बताए ।
गठबन्धनकै कारण अधिनायकवाद ढलेर वर्तमान सरकारको गठन भएकोले अलिकति पनि बेइमानी नगर्न वडा अध्यक्षहरूलाई आग्रह गरे । उनले पार्टीले उम्मेदवार बनाएको हो, त्यही पार्टीको केन्द्रीय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको हुँदा त्यसमा दायाँबायाँ नगर्न निर्देशन दिए । उनले भने–“काङ्ग्रेस बेइमान हो भन्ने आरोप नलागोस् ।”
अर्का केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनको धर्म इमानदारीका साथ पालना गर्न निर्देशन दिए । उनले वीरगंजको विकासमा यस अघिका नगरप्रमुखले पटक्कै ध्यान नदिएको आरोप लगाए ।
पूर्वमन्त्री सुरेन्द्र चौधरीले आउँदा दिनमा नेपाली राजनीतिमा गठबन्धन अनिवार्य शर्त बनेकोले इमानदारीसाथ पालना गर्न नेता, कार्यकर्तालाई अनुरोध गरे ।
सांसद प्रदीप यादवले यो लडाइँ अधिनायकवादविरुद्ध लडाइँ भएको बताए । उनले भने–“गठबन्धन हार्नु भनेको शान्ति र संविधानका पक्षधरहरू हार्नु हो ।”
बैठकमा नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दनसिंह क्षत्री, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष रामदरशप्रसाद कुशवाहा, संविधानसभा सदस्य अनिल रूँगटा, मधेस प्रदेशका खानेपानीमन्त्री ओमप्रकाश शर्मा, गठबन्धनका प्रमुख र उपप्रमुख पदका साझा उम्मेदवार राजेशमान सिंह र इम्तियाज आलम, नेताहरू श्याम पोखरेल, मनोज चौधरीलगायतको सहभागिता थियो ।