प्रस, वीरगंज, २३ वैशाख/
कलैया उपमहानगरपालिकामा यसपटक हुन लागेको स्थानीय चुनावमा पनि द्विपक्षीय भिडन्तको सम्भावना देखिएको छ ।
गत स्थानीय निर्वाचनमा विजयी नेपाली काङ्ग्रेसका राजेशराय यादव र उनीसँग झिनो मतले पराजित नेकपा एमालेका विनोद साहबीच मुख्यरूपमा प्रतिस्पर्धा हुने अडकल गरिंदैछ । गत स्थानीय चुनावमा एमालेका विनोद साह नगरप्रमुखमा विजयी यादवसँग १८४ मतअन्तरले पराजित भएका थिए ।
गत चुनावमा नगरप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टीका प्रमोद गुप्ता सात सय मतअन्तरले पराजित भएका थिए र अहिले उनी गठबन्धनबाट नगर उपप्रमुखमा चुनाव लड्दै छन् । गुप्ता पहिलो संविधानसभाका निर्वाचित सभासद् पनि हुन् । गठबन्धनको कारण नेपाली काङ्ग्रेसबाट गत चुनावमा निर्वाचित रहिमा खातुन उम्मेदवार हुनबाट वञ्चित भएकी छन् ।
कलैया उपमहानगरको नगरप्रमुख पदमा सातजनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा एमालेबाट रौशन परवीन उम्मेदवार छिन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार भएका नगरप्रमुख यादवलाई अहिले चौतर्फी तनाव छ । गएको नेका, बाराको सभापतिमा उनले निर्वाचित हुनका लागि अर्का उम्मेदवार रामानन्दप्रसाद यादवलाई नगरप्रमुखको उम्मेदवार बनाउने प्रलोभन दिएका थिए तर आपैंm उम्मेदवार भएपछि अहिले यादव रिसाएका छन् ।
यसैगरी, नेका, बाराका निवर्तमान सभापति जयचन्द चौरसियालाई नेकाको निर्वाचनमा प्रतिनिधिमा हराएर उनले सभापतिको बाटो प्रशस्त गरेको भन्दै चौरसिया पनि उनीसँग रिसाएका छन् । मुस्लिम उम्मेदवार गठबन्धनमा नभएकोले मुस्लिम मत यादवले कम पाउने अडकल गरिंदैछ । गत चुनावमा प्रमुखका उम्मेदवार गुप्ता कलैया बजार क्षेत्रका भएको र अहिले उनी उपप्रमुखको उम्मेदवार भएकोले बजार क्षेत्रको मत यादव र साहमध्ये कसलाई जाने भन्ने अन्योल छ ।