प्रस, वीरगंज, २३ वैशाख/

सत्ता गठबन्धनले वीरगंज महानगरपालिकाको लागि शुक्रवार प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सत्ता गठबन्धनका जिल्ला अध्यक्ष र नगरप्रमुखका उम्मेदवार राजेशमान सिंह र उपप्रमुखका उम्मेदवार इम्तियाज आलमले महानगरको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं, ‘सम्भावना’लाई ‘सम्भव’ बनाउने महाअभियानमा विकसित वीरगंजका लागि विवेकपूर्ण मतदान गर्न आग्रह गरिएको छ ।

प्रतिबद्धतापत्रमा वीरगंज सम्भावनाको शहर, राजनीतिक परिवर्तन, बलिदानीपूर्ण आन्दोलन र देशको आर्थिक उन्नतिमा अग्रणी भूमिका खेल्दै आए पनि उपेक्षित  शहरको रूपमा पहिचान बनाएको जनाइएको छ । गत स्थानीय तह निर्वाचनमा चुनिएको नेतृत्वका कारण विकासमा पछाडि परेको वीरगंज महानगरपालिकालाई देशका अन्य स्थानीय तहको दाँजोमा विकासको प्रतिस्पर्धामा अगाडि लग्ने र एउटा उन्नत नगर बनाउन अठोट लिएको  प्रतिबद्धतापत्रमा उल्लेख छ ।

जनताको शासन, जनमुखी प्रशासनमा सुशासनलाई प्रशासन तथा सेवाप्रवाहको मूलमन्त्र बनाइने, महानगरबाट भएका गलत कार्यको छानबीन गरी कानून अनुसार कारबाई गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै छिटोछरितो सेवा प्रदान गर्ने योजना रहेको र अनावश्यक प्रशासनिक खर्च कटौती गरी विकास बजेट बढाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सबैका लागि सुलभ शिक्षा अन्तर्गत विद्यालय भर्ना अभियान चलाइने, सरकारी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गरिने, शिक्षकलाई तालीम र विद्यार्थीलाई नैतिक शिक्षा दिइने भनिएको छ । यस्तै, बालमैत्री शैक्षिक वातावरण बनाइनुका साथै शिक्षण सिकाइ सामग्री, पुस्तकालय र खेलकूदका सामग्रीको उचित व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी स्थापना गरिने, सरकारले निश्शुल्क उपलब्ध गराउने सबै प्रकारका औषधिको लाभ लिने वातावरण बनाउने प्रतिबद्धतापत्रमा भनिएको छ ।

पूर्वाधार विकास तथा पर्यटनमा चक्रपथ निर्माण गरी वीरगंजका ३२ वटै वडालाई सडक सञ्जालमा जोडिने योजना रहेको र जीर्ण सडकहरूको स्तरोन्नति तथा नयाँ सडक निर्माण गरिने र चौतर्फी आवागमन हुने घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न ओभर ब्रिज निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

रोजगारको सम्भाव्यता अध्ययन गरी पर्याप्त पूर्वाधारसहितको औद्योगिक क्षेत्रको स्थापना गरिने उल्लेख छ । यस्तै, औद्योगिक विकासका लागि सरोकारवालाको साझा कार्यदल बनाइ काम गरिने र तथ्याङ्क सङ्कलन गरी सोको आधारमा रोजगार र जनशक्तिको बीचमा तालमेल बनाइ रोजगारमा वृद्धि गरिने भनिएको छ । रोजगारमूलक सीप विकासका लागि प्राविधिक तालीम केन्द्रको स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि नगर प्रहरी, नयाँ स्थापना गरिने नगर ट्राफिक प्रहरी र महानगरमा गरिने सबै किसिमका कर्मचारी भर्नामा महिलालाई आरक्षणको व्यवस्था मिलाइने भनिएको छ ।

सूचना प्रविधि तथा सञ्चारका लागि महानगरको सूचनामा सबैको पहुँच स्थापित गरिने जनाइएको छ । महानगरमा दर्ता तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमको लागि समानुपातिक ढङ्गले वितरण हुने गरी लोककल्याणकारी विज्ञापनको व्यवस्था गरिने उल्लेख छ ।

खेलकूदमा महानगरभित्रका नारायणी रङ्गशाला, नारायणी क्रिकेट मैदान र आदर्शनगर रङ्गशालाको स्तरोन्नति गरिने भनिएको छ ।

आन्दोलनमा शहीद भएकाको परिवारलाई उचित सहयोग उपलब्ध गराइने उल्लेख छ । त्यस्तै, आन्दोलनमा घाइते तथा अपाङ्ग भएकालाई रोजगार उपलब्ध गराउने उल्लेख छ ।

साहित्य तथा भाषा संस्कृतिको क्षेत्रमा महानगरका सम्पूर्ण जातजातिको भाषालाई संरक्षण तथा संवद्र्धन गरिने उल्लेख छ । कार्यक्रममा सांसद प्रदीप यादव, नेपाली काङ्ग्रेस पर्साका सभापति जर्नादनसिंह क्षत्री, जनता समाजवादी पार्टी, पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्र, पर्साका संयोजक रामदरश कुशवाहा, नेकपा एकीकृत समाजवादी, पर्साका अध्यक्ष बालगोपाल थापा, नेता चिरञ्जीवी आचार्यले प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण तबरेज अहमदले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here