युक्रेन, १८ वैशाख/एएनआई
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् ।
चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए । कुलेबाका अनुसार रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताए अनुसार कीभले अब युएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टरहरूमध्ये एक बन्न प्रस्ताव गरिरहेको छ ।
उनले थपे बेइजिङले युक्रेनमा युद्धविरामको पहल गर्न रूसलाई आह्वान गर्ने कीभले आशा राखेको छ ।
रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरू गरेको हो । रूसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए, “जो आठ वर्षदेखि कीभ शासनद्वारा दुव्र्यवहार र नरसंहारको शिकार भएका छन् ।”
त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रूसमाथि कडा प्रतिबन्ध लगाएका छन् । रासस