प्रस, वीरगंज, १५ वैशाख/
पर्सा जिल्लाका चौधवटा पालिकामा स्थानीय चुनावले गति लिएको छ । मनोनयनपत्र दर्ता भएपछि दल र स्वतन्त्र उम्मेदवारहरू घरदैंलो कार्यक्रममा व्यस्त छन् ।
गर्मीको कारण बिहान र बेलुका घरदैंलो कार्यक्रम तीव्र गतिमा भइरहेको छ । चुनावकै बेलामा मुस्लिम समुदायको रमजान परेकोले दिउँसो चुनावी चहलपहल बढ्न सकेको छैन । मुस्लिम समुदायको ईद पर्व २० गते परेको र त्यसपछि चुनावी गतिविधि दिउँसो पनि बढ्न सक्ने अनुमान छ ।
यसैगरी, निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न नदिएको कारण अहिले पोस्टर, पम्पलेटबाट गरिने प्रचार हुन सकेको छैन ।
वैशाख १६ गते उम्मेदवारी फिर्ताको अन्तिम मिति छ भने १७ गते अन्तिम नामावली प्रकाशन हुने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि पोस्टर, पम्पलेटबाट चुनाव प्रचारप्रसार हुने अनुमान छ ।
अहिले झन्डा, ब्यानर, डिजे साउन्ड, सामाजिक सञ्जाल, रेडियो एफएम, अनलाइन र पत्रपत्रिकाहरूबाट चुनावी प्रचारप्रसार भइरहेका छन् ।
भोजभतेरमा कमी
यसपटकको स्थानीय चुनावमा चौधवटै पालिकामा भोजभतेर गर्ने कार्यले गति लिन सकेको छैन । यसो त भोजभतेर निर्वाचन आचारसंहिताविपरीत पनि हो । तर गएको स्थानीय चुनावमा बिहान, दिउँसो, बेलुका उम्मेदवारहरूले भोजभतेर गर्ने गथ्र्ये । यसपटक यो कार्यमा कमी आएको छ ।
वीरगंज महानगरपालिकामा नगरप्रमुखका उम्मेदवारको घरमा चुनाव प्रचारप्रसारमा खटेकाहरूको लागि मात्र खानपिनको व्यवस्था गरिएको छ । यसबाहेक वडाध्यक्षहरूले छिटपुटरूपमा मात्र भोजभतेर गरेका छन् । उम्मेदवारी दर्ता हुने दिन वैशाख १२ गते ठूलो मात्रामा भोजभतेर भएको थियो ।
यसपटकको भोजभतेर होटलकेन्द्रित रह्यो । कार्यकर्ताहरूलाई रकम दिएको कारण उनीहरू झन्डा लगाएको सवारीसाधनसहित वीरगंजका साना/ठूला होटल, रेस्टुराँमा खानपिन गरेको पाइएको थियो । गाउँतिर पनि यस्तै रह्यो । केही उम्मेदवारहरूले ग्रामीण क्ष्Fेत्रमा मासु–च्युरा र मदिराको व्यवस्था गरेका थिए ।
एमालेको घरदैंलो कार्यक्रम
प्रस, रौतहट/
मौलापुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार रीनाकुमारी साहले प्रतिबद्धतापत्रसहित घरदैंलो कार्यक्रम गरेकी छन् ।
नेकपा एमालेबाट उम्मेदवार साहले दोस्रोपटक नगरप्रमुख पदमा उम्मेदवारी दिई जनतासमक्ष प्रतिबद्धतापत्रसहित मतको लागि आग्रह गरिरहेकी छन् । प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ, खेलकूद, कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृति, भौतिक पूर्वाधार, सेवा प्रवाह तथा सुशासन, सामाजिक न्याय जस्ता विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन् ।