प्रस, परवानीपुर, १४ वैशाख/
नेपालकै सबैभन्दा कम क्षेत्रफलको गाउँपालिका भनेर चिनिने बाराको पाँचवटा वडा भएको परवानीपुर गापाको अध्यक्ष पदमा नौजनासहित १९९ जनाको विभिन्न पदमा उम्मेदवारी परेको
छ ।
अध्यक्षमा नौजनामध्ये एकजना स्वतन्त्र छन् ।
त्यसैगरी, उपाध्यक्षमा आठजना, ४२ जना वडासदस्यमा, महिला सदस्यमा ३५ जना, दलित महिला सदस्यमा ३२ जना र अन्य गरी कुल १९९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत मेघनाथ रिमालले जानकारी गराए । उनका अनुसार करीब १४ हजार मतदाता रहेको गापामा परेका उम्मेदवारी अहिले रुजू गर्ने र कागजात मिलाउने काम भइरहेको बताए । उनका अनुसार वैशाख १६ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका बनेको बताए । परवानीपुरमा लोसपा, काङ्ग्रेस, एमाले, जसपालगायत दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गापा अध्यक्ष, उपाध्यक्षमा जित्न ३–४ हजार मत आवश्यक पर्छ भने वडामा जित्न ८ सयको हाराहारीमा मत चाहिन्छ ।
परवानीपुर गापाको अध्यक्षमा लोसपाबाट जगतनारायण महतो, एमालेबाट रामक्षत्री राउत कुर्मी, काङ्ग्रेसबाट लालबाबू यादव र जसपाबाट सञ्जु साहले उम्मेदवारी दिएका छन् । कुल १९९ जना उम्मेदवारीमध्ये ६७ जना महिला छन् ।