पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकास्थित प्रादेशिक पोखरिया अस्पतालमा बल्ल शल्यक्रिया शुरू भएको छ । यसले पनि पर्सा जिल्लामा स्वास्थ्यको अवस्था कस्तो छ भनेर आकलन गर्न सकिन्छ । यसअघि जिल्ला अस्पतालको स्तरोन्नतिका लागि पछिल्लो समयमा त्यहाँको जनताले आवाज उठाउँदै आएको छ । मधेस प्रदेश सरकारले ५० शøयाको अस्पताल बनाउने घोषणा गरेको पनि लामो समय भयो । तर सोअनुरूपको पूर्वाधारहरू भने तयारी गर्न सकेको छैन । अहिले पोखरिया अस्पताल १५ शøयाको छ तर नाममात्रको । अस्पतालमा अहिलेसम्म बिरामी भर्ना गरिंदैन । चिकित्सक, स्टाफ नर्सलगायत कर्मचारीहरूको अपर्याप्तताले बिरामी भर्ना नगरिएको हुन सक्छ । कर्मचारीहरू बिहान खटेर फेरि बेलुकी खट्न सक्दैनन् । त्यसका लागि कर्मचारीहरूको पर्याप्त व्यवस्था हुनुपर्छ । यसका साथै पोखरिया अस्पतालमा उपकरणहरूको पनि पर्याप्त व्यवस्था हुन सकेको छैन । पोखरिया अस्पतालमा उपकरणहरूको व्यवस्थाका लागि पनि मधेस प्रदेश सरकारसँग त्यहाँको जनताले बारम्बार माग गर्दै आएको छ । एक्स–रे मेशिन छ तर बेलाबखत बिग्री मात्र रहन्छ । भिडिओ एक्स–रेमा पहुँच भइसकेको छैन । लामो समयको प्रयासपछि सो अस्पतालमा प्रयोगशाला स्थापना भएको छ । तर केमिकल अभावमा प्रयोगशालाले पनि बेलाबखत सेवा दिन सकिरहेको छैन ।
पोखरिया अस्पताल व्यवस्थित हुने हो भने ग्रामीण क्षेत्रबाट वीरगंजसम्म बिरामीहरू धाउनुपर्दैन थियो । सानोभन्दा सानो रोगको लागि पनि वीरगंजसम्म आउनुपर्ने दुर्भाग्यको कुरा हो । पालिकास्तरमा स्वास्थ्य केन्द्रहरू छन् । सामान्य बिरामीको त्यहाँ उपचार हुन्छ । स्टाफ नर्स, अहेबले जाने बुझेका उपचार गर्छन् । तर उनीहरूको काबुबाहिरको रोगको उपचारका लागि वीरगंज धाउनैपर्छ । पोखरिया अस्पतालमा बिरामी भर्ना गरिंदैन, त्यहाँ गएर उपचार गराउनु अनि त्यहाँबाट रेफर भएर वीरगंज धाउनुभन्दा बिरामीहरू सीधा वीरगंज आउने गर्छन् । अहिले ठोरीसम्म हुलाकी सडक सञ्जालले आवतजावतमा सहजता ल्याएको छ । यस अर्थमा वीरगंजसम्मको यात्रा सजिलो भएको छ । सडक निर्माण नहुँदासम्म त्यहाँ र आसपासका गापाका बिरामीहरूलाई वीरगंज आउन समस्या हुन्थ्यो । पोखरिया अस्पतालको यस मानेमा पनि स्तरोन्नति आवश्यक छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री पर्सा जिल्लाकै बासिन्दा हुन् । उनलाई पोखरिया र नारायणी अस्पताल तथा यो जिल्लामा रहेका स्वास्थ्य केन्द्रहरूको सेवा, सुविधाको बारेमा राम्रो जानकारी छ । आफ्नो कार्यकालमा उनले स्वास्थ्य क्षेत्रको यो दुरवस्थालाई सुधार गर्नुपर्ने हो ।
खाली भाषण र प्रतिबद्धताले विकास सम्भव हुन्न । तसर्थ मानिसले विकास भएको स्वयम्ले महसूस गर्ने वातावरण सृजना गर्नुपर्छ । स्थानीय तह पनि अहिले सामथ्र्यवान् छ । आफ्नो पालिकाको स्वास्थ्य अवस्था सुदृढ गर्ने जिम्मेवारी पनि उसको हो । पोखरिया अस्पतालको स्तरोन्नतिका लागि नगरपालिकाले खासै वास्ता नगरेको देखिन्छ । हैन भने यो पाँच वर्षको अवधिमा त्यो अस्पतालको अवस्थामा परिवर्तन हुनुपर्ने हो । मुख्यमन्त्री बिरामी परेको खण्डमा सो अस्पतालमा उपचार गराउँदैनन् । उनको हैसियत बढेको छ तर पोखरिया र सो आसपासका मानिससँग विकल्प छैन । अस्पतालको विकासका लागि स्थानीयले कदम चाल्नुपर्छ र यसमा ढिलो कदाचित गर्नुहुँदैन ।