ओमप्रकाश चौधरी, सेढवा, १३ वैशाख/
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जीराभवानी गाउँपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका छन् ।
गापाको अध्यक्ष पदमा नेकपा एमालेबाट दुईजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संविधानसभा सदस्य तथा नेकपा एमाले, पर्साका अध्यक्ष जयप्रकाश थारूका जेठा छोरा कुनालमहतो थारू र गापाका निवर्तमान अध्यक्ष रामप्रीत महतोले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस सम्बन्धमा जीराभवानी गापाको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले कुनै पनि राष्ट्रियस्तरको राजनीतिक दलले दिएको टिकटको आधारमा उम्मेदवार बन्न मनोनयनपत्र दर्ता गर्न मिल्ने बताए । तर कुन उम्मेदवारले वैधानिकता पाउने विषयमा सो दलको आधिकारिक पत्रको आधारमा उम्मेदवार बन्न पाउने व्यवस्था रहेको उनले बताए ।
एउटै पार्टी एमालेबाट दुईजनाको उम्मेदवारी दर्ता भएकोमा अब जसले पार्टीको आधिकारिक पत्र ल्याउँछ, उसैको उम्मेदवारी कायम रहने उनले बताए ।
त्यस्तै, अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसबाट अनोज चौधरी, माओवादीबाट जयनारायण प्रसाद, जसपाबाट बिकाउप्रसाद भण्डारी, लोसपाबाट शम्भुप्रसाद यादव, नेपाल सुशासन पार्टीबाट शिरोमणि सापकोटा गरी सातजनाले अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा नेकपा एमालेबाट निवर्तमान उपाध्यक्ष उषादेवी थरुनी, नेकाबाट रेखा चौधरी, जसपाबाट बिन्दुदेवी थरुनी, नेकपा एसबाट सबरून नेशा गरी चारजनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
वडा नं १ को अध्यक्षमा नेकाबाट शेख नूमान आजम, एमालेबाट रामशरण खवास, जसपाबाट नेसार मियाँ तेली, नेसुपाबाट रामहजरा दुसाद, लोसपाबाट मुकेश खवास र माओवादीबाट जीतेन्द्रदास थारू गरी छजनाको उम्मेदवारी परेको छ ।
वडा नं २ को अध्यक्षमा एमालेबाट निवर्तमान वडाध्यक्ष महादेवमहतो थारू, नेकाबाट ब्रह्मानन्द चौधरी, माओवादीबाट अरुण प्रसाद, जसपाबाट नरेशप्रसाद महतो, लोसपाबाट रामेश्वर महरा चमार र नेसुपाबाट सुदामा महतो थारु गरी छजनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं ३ को अध्यक्षमा नेकाबाट सुरजराय थारू, माओवादीबाट कृपाचार्य राय, लोसपाबाट जीतेन्द्र महरा चमार, नेकपा एसबाट भोला महतो थारू गरी चारजनाको मनोनयनपत्र दर्ता भएको छ ।
वडा नं ४ को अध्यक्षमा नेकाबाट रामेश्वरदास थारू, एमालेबाट अर्जुनदास थारू, नेकपा एसबाट बिगा दिस्वा थारू, जसपाबाट विद्यानन्दमहतो थारू, नेकपा एसबाट राजबली यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
वडा नं ५ मा अध्यक्ष पदमा नेकाबाट दारासिंह राउत थारू, एमालेबाट बृजमोहन गौरो, माओवादीबाट रामाकान्त चौधरी, जसपाबाट जयनारायण दास, र नेसुपाबाट कुशेश्वर घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन् ।
जीराभवानीमा कुल १२२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत घेराउ
प्रस, सेढवा/
निर्वाचन अधिकृतको कार्यालय, जीराभवानी गाउँपालिकाका प्रमुख झविन्द्रप्रसाद पाण्डेलाई राजनीतिक दलका नेता, कार्यकर्ताहरूले घेराउ गरेका छन् ।
कार्यालयबाट दिउँसो ४ः३० बजे अधिकृत पाण्डे निस्किने बेलामा उनको गाडी दलका नेता, कार्यकर्ताहरूले घेराउ गरेका थिए । नेता, कार्यकर्ताहरूले अधिकृत पाण्डेले सर्वदलीय बैठक नडाकेको र मनोनयनपत्र दर्ताका लागि पठाइएका उम्मेदवारहरूको दर्ता पनि नगरेको तथा फाइलहरू पनि हराएको विषयलाई लिएर घेराउ गरेको दलका नेताहरूले बताएका छन् ।
उनीहरूले बुधवार बिहान १० बजे सर्वदलीय बैठक बोलाउन चेतावनी दिएका छन् । अधिकृत पाण्डेलाई सुरक्ष्Fाकर्मीहरूले स्कर्टिङ गरी गाउँबाट बाहिर निकालेका थिए ।